Logo

चर्को शुल्क तोकिएपछि शुनसान रहेको हजारीमल धर्मशालाको पार्किङ क्षेत्र

१२ बैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले मेनरोडको लोहरपट्टी चोकदेखि मकालु होटल सम्मको मुख्य सडकमा मोटरसाइकल लगायत कुनै पनि सावरी पार्किङ गर्न नपाउने नियमन लागु गरेपछि सामाजिक सञ्जालमा त्यसको विरोध भएको छ ।

आर्दशनगर चोक नजिक रहेको हजारीमल धर्मशालामा मोटरसाइकल लगायत अन्य सवारी साधन सशुल्क पार्किङ गर्नेगरी ग्रिनसिटी सामुदायिक संस्था र हजारीमल धर्मशालाका संचालक विच सम्झौता भएको थियो ।

हजारीमलको पार्किङमा बैशाख १ गते देखि शुल्क उठाउन थालेपछि हलुका सवारी साधन समेत आउननै छोडेकोले महानगरले मेन रोडमा समेत मोटरसाइकल पार्किङ गर्न रोक लगाउने निर्णय गरेको हो ।

वीरगञ्जको मेनरोड महानगरपालिकाको अधिकार क्षेत्रभित्र नपर्ने भएपनि आर्दशनगरको लोहारपट्टी चोक देखि मकालु सम्मको सडकलाई निषेधीत गर्न खोज्नुले हजारीमलको पार्किङ क्षेत्रमा सवारी साधन लैजान बाध्य पार्न खोजेको आरोप त्यस क्षेत्रका व्यवसायीहरुको छ ।

मेनरोडको घण्टाघर देखि नारायणी अस्पताल सम्मको सडक किनारामा मोटरसाइकल पार्किङको कारण सागुरो सडकमा जाम लाग्ने र दुर्घटना समेत हुने गरेकोले त्यसलाई नियन्त्रण गर्न हजारीमलको धर्मशालामा पार्किङको व्यवस्था मिलाईएको ग्रिनसिटी सामुदायिक संस्थाका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

हजारीमलमा सशुल्क पार्किङ गर्न त्यसको लागि संरचना बनाएर शुल्क उठाउने जिम्मा ग्रिन सिटी सामुदायिक संस्थाले दिने सम्झौता भएपनि ग्रिन सिटीले शुल्क उठाउने काम नगरेको खेतानले बताए । उनले हजारीमलका संचालकहरुले नै अरु व्यक्तिलाई शुल्क उठाउने जिम्मा दिएको अध्यक्ष खेतानले बताए ।

आर्थिक मन्दीको कारण अप्ठारोमा परेका व्यवसायलाई व्यापार व्यवसाय गर्न उपयुक्त वातावरण सृजना गर्नुपर्नेमा व्यवासाय गर्न नदिने उदेश्यले मेनरोडको केही क्षेत्रलाई मात्र निषेधित गर्न खोजिएको आर्दशनगरका व्यवसायीहरुको गुनासो छ ।

ग्रिनसिटीले पैसा कमाउने उदेश्यले अधिकार क्षेत्र भित्र नभएको ठाउँमा हस्तक्षेप गर्न थालेको आरोप मेनरोडका व्यवसायीहरुको छ । सडकमा बढी जाम हुने क्षेत्र माइस्थान देखि घण्टाघर सम्म भएपनि आर्दशनगरको थोरै क्षेत्रलाई मात्र निषेधित गर्नुमा नियत देखिएको उनीहरुको भनाई छ ।

ग्रिनसिटीका अध्यक्ष जयप्रकाश खेतानले लोहार पट्टी चोक देखि मकालु चोक सम्मको सवारी साधनलाई पार्किङ गर्न उपयुक्त स्थान हजारीमल भएकोले पहिलो चरणका लागि परिक्षण गर्न त्यस क्षेत्रलाई रोजिएको बताए ।

वीरगञ्जको घण्टाघर देखि छपकैया श्रीरामहल सम्मको मेनरोडमा पार्किङ गर्न निषेध गर्नेगरी योजना बनाउने उदेश्यले पहिलो चरणमा आर्दशनगर चोकलाई लक्षित गरिएको खेतानको भनाई छ । अहिले ३/४ जना कर्मचारी राखेर पार्किङलाई व्यवस्थित गर्न खोजिएको खेतानले बताए ।

पार्किङ क्षेत्रलाई व्यवस्थित र सुरक्षीत बनाउन कर्मचारी राख्नुपर्ने र उनीहरुको तलव समेत उठेको पार्किङ शुल्कबाट दिनुपर्ने भएकोले हजारीमलको पार्किङलाई चलायमान बनाउन खोजिएको उनको भनाई छ । त्यस क्षेत्रका व्यवसायीले भने पार्किङको नाउँमा व्यापार शुरु गर्न थालिएको आरोप लगाएका छन् ।

हिजो मात्र वीरगञ्ज महानगरपालिका, ग्रिनसिटी सामुदायिक प्रहरी, वडा प्रहरी कार्यालय विर्ता, जिल्ला ट्राफिक प्रहरी विचको छलफलबाट लोहारपट्टी चोक देखि मकालु होटल सम्मको मेनरोडमा मोटरसाइकल पार्किङमा रोक लगाउने सहमती भएको छ ।

हजारीमलको पार्किङ क्षेत्रमा मोटरसाइकलको १० र हलुका सावरी साधनको ५० रुपियाँ पटके शुल्क लिने सूचना टाँस गरिएको छ । त्यस क्षेत्रका व्यवसायीले पटके शुल्कका नाउँमा व्यापारीलाई दुख दिन खोजिएको आरोप लगाएका छन् ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले त्यस क्षेत्रका व्यवसायीको गुनासो सम्वोधन हुने गरी महानगरपालिकाले निकास दिन सक्ने बताए । उनले व्यवसायीलाई मर्का परेको भनेर लिखित रुपमा महानगरपालिकामा आएमा उचित निकास निकाल्ने प्रमुख प्रशासकिय अधिकृत पौडेलको भनाई छ ।


सम्बन्धित समाचार