Logo

१४ वैशाख,काठमाडौँ। एसीसी मेन्स प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ । नेपालले दिएको १५८ रनको लक्ष्य पच्छ्याएको कतार २५.१ ओभरमा ८९ रनको स्कोर बनाउँदा अलआउट भयो ।

नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिए । सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए । कतारका लागि जहीर इब्राहिम र खुर्राम शहजादले समान १५–१५ रन बनाए । आमिर फारुकले १४ रन बनाए । अन्य कुनै ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.३ ओभरमा अलआउट हुँदै १५७ रनबनाएको थियो । नेपालको लागि सन्दीप लामिछानेले सर्वाधिक अविजित ४२ रन बनाए । कप्तान रोहित पौडेलले २७, आसिफ शेखले १९, दिपेन्द्र सिंह ऐरीले १२ र आरिफ शेख र सोमपाल कामीले समान ११–११ रन बनाए ।

कतारका लागि आमिर फारुकले ४ र ओवाइस अहमदले ३ विकेट लिए । गयान मुनाविराले २ विकेट तथा इकरामुल्लाह खानले १ विकेट लिए । यो जितसँगै नेपाल समूह एको विजेता बनेको छ । अब नेपालले शनिबार समूह बीको उपविजेतासँग किर्तिपुरमा सेमिफाइनल खेल्नेछ । समूह बीमा हङकङ र कुवेतको खेल जारी रहेकाले त्यो समूहको पहिलो र दोस्रो टोली कुन हुने भन्ने छिनोफानो हुन बाँकी छ ।


सम्बन्धित समाचार