Logo

फाइल तस्बिर

२८ वैशाख,ठोरी । शिकारीबास‚ पर्सा — २ सातादेखि पर्साको शिकारीबासमा जंगली हात्तीले स्थानीयको बालीनाली नष्ट गरिरहेका छन् । ठोरी गाउँपालिका ३ मा पर्ने चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संगमस्थलमा रहेको यो गाउँमा साँझ पर्नासाथ हात्ती आएर धान, मकै र केरा बाली नष्ट गरिरहेको स्थानीय किसानले गुनासो गरेका छन् ।

हाल चितवन राष्ट्रिय निकुञ्जको वन क्षेत्रबाट गाउँ प्रवेश गर्ने २ वटा हात्तीले बालीनाली नष्ट गरिरहेको स्थानीय किसान जीतेन्द्र चौधरी बताउँछन् । ‘चैते धानबाली सप्रिँदै गएपछि बर्सेनि हामीले यही पीडा भोग्ने हो,’ उनले भने, ‘अहिले २ वटा हात्ती छन्, पछि हात्तीको बथान नै आउन थाल्छन् ।’

हालसम्म हात्तीले स्थानीयको करिब २ बिघा धानबाली नष्ट गरिसकेको उनले बताए । अर्का स्थानीय शिवजनम चौधरीले २ वटा निकुञ्जले चारैतिरबाट घेरिएको गाउँमा वन्यजन्तु र मानव द्वन्द्व अत्यधिक रहेको बताए । ‘हामी परापूर्वकालदेखि घनाजंगलको बीचमा रहेको दुर्गम गाउँमा बसेर वन्यजन्तुसँग यसरी नै द्वन्द्व गरेर बाँचेका छौं,’ उनले भने, ‘हात्तीले अमवा जिउँवा खोलाको मुहानमा जडान गरिएको खानेपानीको पाइप नै नष्ट गरिदियो । त्यसपछि खानेपानी आउनै बन्द भएको छ ।’

गाउँमा जम्मा ५२ घरधुरी छन् । करिब १ सय ८५ बिघा क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ३० बिघा जोतभोग नगरी बाँझै रहेको उनले बताए । ‘बर्सेनि हामीले लगाएको बालीनाली हात्ती, हरिण, चित्तल, निलगाई, बँदेल, बाँदरजस्ता वन्यजन्तुले नष्ट गरिदिन्छन्,’ उनले भने, ‘हामीले लगाएको बालीमध्ये आधामात्र भित्र्याउन पाउँछौं, कतिपय किसानले आजित भएर खेतीपाती गर्नै छाडिसके ।’

 

वन्यजन्तुलाई धपाउने तथा करिब ७ किमि दक्षिण–पश्चिममा रहेको हुलाकी सडकसम्म आवागमनको क्रममा बर्सेनि स्थानीय बासिन्दा घाइते हुने तथा ज्यानै जानेसम्मका घटना घट्ने गरेको चौधरी बताउँछन् ।

मानव बस्तीमा चितुवासमेत पसेर धेरै पटक स्थानीय बाख्रा लगिसकेको छ । खेतमा काम गर्दा बाघ र भालुको आक्रमणमा पटक–पटक स्थानीय किसान परेका छन् ।

वन्यजन्तुको मानव बस्ती प्रवेश रोक्न बस्ती वरपर सोलार फेन्सी तारको व्यवस्था हुन सके वन्यजन्तुबाट हुने क्षतिमा धेरै हदसम्म न्यूनीकरण आउने चौधरी बताउँछन् ।साभार कान्तिपुर शंकर आचार्य


सम्बन्धित समाचार