Logo

७ जेठ, वीरगञ्ज । वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरमा कार्यरत २४ जना शिक्षक कारबाहीमा परेका छन् ।

विद्यालयका प्रधानाध्यापकसहित २४ जना आकस्मिक अनुगमनका क्रममा अनुपस्थित देखिएकाले कारबाही स्वरूप महानगरपालिकाले स्पष्टीकरण सोधेको छ ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंह आफैँ आज बिहान आकस्मिक अनुगमनमा पुग्दा उक्त विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल सहित २४ जना शिक्षकहरू अनुपस्थित भेटिएकाले उनीहरूसँग स्पष्टीकरण माग गरिएको शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्णले जानकारी दिनुभयो ।

विद्यालयमा भौतिक रुपमा भेटिएको भए पनि हाजिरी गरेको नपाइएकाले उनीसँग स्पष्टीकरण माग गरिएको उहाँले प्रष्ट पार्नुभयो । महानगरप्रमुख सिंहले पठन पाठनमा कुनै प्रभाव नपर्ने गरी विद्यालयमा देखिएको शिक्षकको कमी यथाशक्य चाँडो पूरा गर्ने गरी आफूहरू लागेको बताउनुभयो ।

यस्तै महानगरप्रमुख सिंहले आजै बिहान वडा नम्बर १४ पिपरामा रहेको नृसिंह माध्यमिक विद्यालय र वडा नम्बर ४ मा रहेको त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम उच्च माध्यमिक विद्यालयको समेत अनुगमन गर्नुभएको छ ।

दुवै विद्यालयमा यो शैक्षिक सत्रदेखि पूर्ण रुपमा अङ्ग्रेजी माध्यममा पठन पाठन सुरु गरिएको छ । विद्यार्थीको पठन पाठन प्रभावित हुन नदिन विद्यालयमा देखिएको शिक्षक अभाव तत्काल पूर्ति गर्ने काम अघि बढाइने उहाँले बताउनुभयो ।

यस्तै कक्षाकोठाको अभाव पनि देखिएकाले त्यसको समाधानमा पनि आफूहरू लागि परेको उहाँले बताउनुभएको थियो । अनुगमनमा महानगरप्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार