Logo

वीरगञ्ज,१५ जेठ । धर्नामा बसेका अभियन्ताहरुले मांग गरेको एक घण्टा भित्र काठमाण्डौ महानगरका मेयर बालेन साहले घुम्ति शौचालय पठाइदिएका छन् । सर्सिया नदीलाई प्रदुषण मुक्त बनाउने अभियन्ताहरुले सोमबार सामाजिक संजाल मार्फत घुम्ति शौचालयको मांग गरेका थिए ।

माईतिघर मण्डलामा धर्नामा बसेका अभियन्ता सरोज रायले आफ्नो फेसबुक पेज मार्फत मेयर बालेन साहको पेजमा मेन्सन गर्दै लेखेका छन् “माहानगरी काठमाडौंको माईतिघर मण्डलामा दिन्हु अनेकौं कार्यक्रम, धर्ना, जुलुस, आन्दोलन भईरहन्छ । टाढा टाढा जिल्लाबाट पिडीतहरू आएर दिनभरि धर्नामा बसेका हुन्छन् । सिर्सिया नदीलाई प्रदूषण मूक्त गराउन नदीको फोहर पानी बोकेर हामी पनि विरगंजबाट ३०० किलोमीटरको बाटो पैदलमार्च हिंडेर ११ औं दिनमा काठमाडौं आई पुग्यौं र हिजो देखि माईतीघरमा अनिश्चित कालिन धर्नामा बसेका छौं । नजिकमा एउटा पनि सार्वजनिक शौचालय नभएको कारण विशेष गरि हामी सित भएका महिलाहरू लाई निकै अपठ्यारो भएको थियो । आसपासको होटलहरूले आफ्नो शौचालय प्रयोग गर्न दिएन । महानपाले तुरन्त समाधानको बाटो खोज्न आग्रह गर्दछु ।”
शौचालय मांग गरिएको एक घण्टामा धर्ना स्थलमा अहिले घुम्ति शौचालय आइपुगेको छ । माईतिघर मण्डलामा दिनुहँु आन्दोलन तथा धर्नाका कार्यक्रम भइरहन्छ । अहिले पनि ७ वटा विभिन्न संघ संस्थाको ७ वटा विरोधका कार्यक्रम भइरहेको अभियन्ता रायले बताए । यस्तो अवस्था पिडित तथा गरिब नागरीककालागी धर्ना स्थलमा शौचालयको व्यवस्था नहुँदा दिनहुँ सौच गर्न बाहिर जान गा¥हो हुने गरेको उनले बताए ।
अहिले सर्सिया नदीलाई प्रदुषण मुक्त बनाउने अभियानमा १८ जना महिला र ७ जना पुरुष गरि २५ जनाको समुह रहेको छ । २४ घण्टा नै धर्ना स्थलमा बस्नु पर्ने भएकाले महिलाहरुलाइ बढी समस्या भएको रायले बताए ।

“आसपासका होटेलमा महिला अभियन्ताहरुलाइ समेत जान नदिएपछि बाध्य भएर मेयर बालेन साह संग घुम्ति शौचालयको माग गरेका हौ, यो समस्या हाम्रो मात्र नभइ यहाँ धर्ना दिने सबै पिडित महिलाहरुको समस्या भएकोले अहिले घुम्ति शौचालय आएपछि सहज भयो ।”
माइतिघर मण्डलामा दिनहुँ धर्नाका कार्यक्रम हुने भएकाले पिडितहरुका लागी मेयर साहले यस क्षेत्रमा व्यवस्थित शौचालयको निर्माण गरिदिए अझ राम्रो हुने अभियन्ता रायले बताए । “देशभरीबाट धेरै पिडित व्यक्तिहरु आफ्नो मांगका लागी यहाँ धर्ना दिन्छन त्यसैले यहाँ व्यवस्थिथत शौचालय भए सधैं भरीको समस्या समाधान हुनेछ ।”

वीरगञ्जको सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउने अभियानले पैदलयात्रा गरेका अभियान्ताहरु आइतबार देखी काठमाण्डौको माइतीघरमा धर्ना दिरहेका छन् । वीरगञ्जबाट १० दिन पैदल हिँडेर काठमाडौं पुगेका उनीहरुले बाराको औद्योगिक करिडोरस्थित उद्योगबाट निस्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको भन्दै नदीलाई प्रदुषणमुक्त बनाउन सरकारको ध्यानाकर्षण गराउन धर्नामा बसेका छन । अभियान्ता रायले सिर्सिया नदीलाई प्रदूषण र अतिक्रमण मुक्त बनाउन स्थानीय स्तरमा भएको आन्दोलनले नटेरेपछि सरकारलाई दबाब दिन काठमाडौं आउन बाध्य भएको बताए ।

आइतबार धर्नामा बसेको पहिलो दिन पर्साका चारवटा निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यहरू धर्ना स्थलमा पुगेका थिए । अभियन्ता रायका अनुसार सुरुमा धर्नामा पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ऐक्यबद्धता जनाएका थिए । यस्तै, पूर्वमन्त्री तथा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पनि अभियानलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ता र पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य अजय चौरसियाले धर्नामा सहभागी भएर उनीहरूको अभियानप्रति समर्थन जनाएका छन् । तर यो समस्या देशव्यापि रहेकाले नदी प्रदूषण नियन्त्रण गर्न सरकारले बोर्ड गठन गर्नुपर्ने अभियन्ताहरुको मांग रहेको छ ।

पर्सा–बारा औद्योगिक करिडोरका उद्योगबाट रसायनयुक्त पानी र फोहोर सिधै नदीमै मिसाउनाले सिर्सिया नदी विगत तिन दशकबाट प्रदूषित बनेको छ । औद्योगिक करिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटाइल, घ्यू, साबुनलगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानी उक्त खोलामा सिधै मिसाउने गरिएको छ । त्यस्तै जीवजन्तुका सडेगलेका छाला, रौँ, खरानी, लेदोलगायतका विकार प्रशोधन नै नगरी नदीमा सिधै विसर्जन गर्ने गरिएको हो


सम्बन्धित समाचार