Logo

२१ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै संसदमा जवाफ माग्ने भएको छ ।

आज संसदमा प्रमुख विपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यी विषयमा विशेष समयमा बोल्ने तयारी रहेको थियो । तर राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तथा राष्ट्रको हित विपरीतका गतिविधि गरेकाले यसबारे प्रष्ट नभई सदन चल्न नदिने तयारी रहेको एमाले स्रोतले जनाएको छ ।

एमालेका प्रमुख सचेतक पदम गिरीले संसद् छलेर राष्ट्रपतिले असंवैधानिक ढंगबाट विवादास्पद र मृत भइसकेको नागरिकता विधेयक पारित गरिनु सामान्य विषय नरहेको बताए ।

त्यस्तै प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको राष्ट्रिय अखण्डताविरुद्धको अभिव्यक्ति दिएकोमा माफी मागेर फिर्ता लिनुपर्ने गिरीले बताए ।

प्रतिनिधिसभामा आजबाट आर्थिक वर्ष २०८० ८१ को बजेटमाथि छलफल शुरु हुने कार्यसूची छ ।

एमालेले भने संविधान र राष्ट्रिय अखण्डाविरुद्ध राष्ट्रपति र प्रधानमन्त्रीबाट भएका गतिविधिबारे माफी मागेर फिर्ता नलिएसम्म सदनको नियमित कारवाही अघि बढ्न नसक्ने ठहर गरेको छ ।

यसैविच राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको आइतबारको बैठकको कार्यक्रम स्थगित गर्न प्रस्ताव गरेको छ । सो पार्टीले संसदको नियमावली २०७९ को नियम ७४ बमोजिम आइतबारको संसद वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव गरेको हो । अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न भन्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सो प्रस्ताव पेश गरेका हुन् ।

राष्ट्रपतिले नीति नियमविपरित नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको कुरा उठेकाले यस विषयमा छलफल नगरी संसद नियमित रुपमा अगाडि नबढ्ने भएकाले निर्धारित सबै कार्यक्रम स्थगित गर्नुपर्ने शाहीको माग छ ।


सम्बन्धित समाचार