Logo

२१ जेठ,वीरगञ्ज । जिल्ला प्रशासन कार्यलय पर्साले नयाँ नागरिकता ऐन अनुसार सोमबारदेखि नागरिकता प्रमाणपत्र वितरण गर्ने भएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले आज सूचना जारी गर्दै आवश्यक कागजात सहित भोलीबाट कार्यलय समयमा सम्पर्क गर्न अनुरोध गर्नुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि नागरिकता ऐन राजपत्रमा प्रकाशित भइ लागु भईसकेको छ । ऐन राजपत्रमा प्रकाशित भएसँगै आजदेखि नागरिकता वितरण सुरु हुने भनिएको थियो ।

गृहमन्त्रालयले शुक्रवार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नयाँ ऐन बमोजिम नागरिकता प्रमाण पत्र वितरण गर्न परिपत्र पठाइसकेको थियो । नागरिकतासम्बन्धी नयाँ ऐनले पूरानो कानुनमा मुख्यतः चार वटा परिवर्तन गरेको छ ।

गृहको परिपत्रसँगै भोलीदेखि नयाँ कानुन अनुसार जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानले, आमाको नामबाट मात्र नागरिकता लिनेहरूले र विदेशी बाबुबाट जन्मिएका नेपाली महिलाका सन्तानले पनि नागरिकता पाउने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

पौडेलले नयाँ कानूनअनुसार ०७२ साल असोज ३ गते भन्दाअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवैको नेपाली नागरिकता देखाएर १६ वर्ष पुगेपछि वंशजको नागरिकता पाउने बताउनुभयो ।
योसँगै नागरिकताको सिफारिस लिन वडा कार्यालयमा भिडभाड शुरु भएको छ ।


सम्बन्धित समाचार