Logo

११ असार,वीरगञ्ज । फिल्म ‘परस्त्री’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शनका लागि अनुमति दिएको छ । सेन्सर बोर्डले फिल्ममा समावेश बेडसिन, चुम्बन तथा हिंसाको दृश्यमा आपत्ति जनाउँदै बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो। फिल्मका केही सिन परिमार्जन गर्दै प्रदर्शन अनुमति पाएको फिल्मका निर्माता दिपेन्द्र के खनालले बताए।

‘६ वटा सिन परिमार्जन गर्दै सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको हो,’ उनले भने। फिल्मले पिजी सर्टिफिकेट पाएसँगै १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथमा हेर्न पर्नेछ। यो फिल्म असार १५ गतेदेखि प्रदर्शन हुँदैछ। सुरज पाण्डेको डेब्यू निर्देशकिय फिल्ममा शिल्पा मास्के, कोशिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारीलगायत कलाकारको अभिनय छ।

यो फिल्म काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो। फिल्ममा विवाहोत्तर सम्बन्धले निम्त्याउने समस्यालाई देखाइएको छ। डिएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा शर्मिला पाण्डे र दिपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन्। खनाल फिल्मका लेखकसमेत हुन्। निरज कँडेलले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।


सम्बन्धित समाचार