Logo

११ असार,मुम्बई। दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म ‘प्रोजेक्ट के’ मा कमल हसन अनुबन्धित भएका छन्। हिन्दी फिल्म बजार विश्लेषक तरण आर्दशले सामाजिक सञ्जालमार्फत उनी फिल्ममा अनुबन्धित जानकारी दिएका हुन्। फिल्ममा उनी भिलेनको भूमिकामा देखिनेछन्।

भारतीय सञ्चारमाध्यममा यो फिल्म खेल्न निर्माता अश्विनी दत्तले उनलाई १५० करोड भारू पारिश्रमिक दिएको चर्चा छ। तर हिन्दुस्तान टाइम्सको स्रोतका अनुसार उनीसँग पारिश्रमिकको कुरा भएको छैन। यो फिल्मको ७० प्रतिशन छायांकन पूरा भइसकेको छ। फिल्मको बजेट ५०० करोड भारू रहेको बताइएको छ।

नाग अश्विनले निर्देशन गर्ने फिल्ममा प्रसाससँगै अमिताभ बच्चन र दीपिका पादुकोणको मुख्य भूमिका छ। यो फिल्ममार्फत प्रभास र नाग अश्विन पहिलो पटक सहकार्य गर्दैछन्। यस फिल्ममार्फत अमिताभ बच्चन र कमल हसन ३८ वर्षपछि एकसाथ काम गर्दैछन्। उनीहरूले सन् १९८५ मा फिल्म ‘गिरफ्तार’ मा एकसाथ काम गरेका थिए।

यतिबेला प्रभास अभिनीत फिल्म ‘आदिपुरुष’ प्रदर्शन भइरहेको छ। तर फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्न सकेको छैन। यो फिल्मपछि उनी ‘सलार’ मा देखिनेछन्।


सम्बन्धित समाचार