Logo

तस्बिर विशाल पटेल

२८ असार,वीरगञ्ज । साउन महिना सुरु भएसँगै पर्सामा हरियो चुरा र पोतेको व्यापार बढेको छ । साउन महिनाभरी नेपाली महिलाले हरियो, पहेँलो,रातो रंगका पहिरन, चुरा, पोते, नेलपोलिस, मेहन्दी आदि लगाई सोह्र शृंगारमा सजिएर भगवान शिवको उपासना गर्ने चलन बढेसंगै पर्सामा हरियो चुरा र पोतेको व्यापार बढेको हो ।

साउन महिना सुरु भएसंगै चुरा पसलमा महिलाहरूको भिड बढेको वीरगञ्ज माईस्थानकी चुरा पसले सुनिता साहले बताउनुभयो । विवाहितले सुहाग यथावत् रहोस् भनेर, सन्तान भएकाहरूले छोराछोरीको दीर्घायुको कामना गर्दै तथा अविवाहितहरूले असल श्रीमान् पाइयोस् भनेर साउने सोमबारका दिन भगवान शिवको व्रत बस्ने बढेसंगै हरियो चुरा र पोतेको व्यापार बढेको चुरा व्यापारीहरुको भनाई छ ।

भित्री तराई तथा भारतीय संस्कृति एवं टेलिभिजनका सिरियल तथा चलचित्रको प्रभावले गर्दा पनि साउनमा हरियो चुरा र पोतेको व्यापार बढेको हो । साउन महिनाभरी नेपाली महिला विवाहित हुन् वा अविवाहित सबै हरियो रंगका डिजाइनर पहिरनमा सजिने भएकाले पर्सामा पनि हरियो चुरा र पोतेको व्यापार बढेको हो ।

विवाहित महिलाहरूका लागि चुरा, पोते र टीकाको महत्व रहेको र श्रीमानको दीर्घायुका लागि चुरा लगाउने चलन भएकाले हरियो चुरा र पोतेको व्यापार बढेको व्यापारीहरुले बताएका छन् ।

साउन आउनु एक हप्ताअघि नै साउनका लागि हरिया चुराहरू बिक्री हुन थाल्ने चुरा पसले साहले बताउनुभयो । हरियो चुराका साथमा पहेँलो, रातो, तथा सुन्तला रंगका चुराहरू पनि त्यत्तिकै बिक्री हुने उहाँले बताउनुभयो । साउनमा पनि दसैं, तीज एवं विवाह भन्दा राम्रो व्यापार हुुन थालेकोले आफुहरु खुशी भएको चुरा पसलेहरुले बताएका छन् ।


सम्बन्धित समाचार