Logo

४ भदौ,वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज, पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने पर्सा वीरगञ्जस्थित खुसी जनरल स्टोर, सिद्धी विनायक ट्रेडर्स, माँ शक्ति ट्रेडर्स, दिनानाथ ट्रेडर्स, जगदिश एण्ड ब्रदर बडिमेकर, देवेन्द्र तेल उद्योगको बैंक खाता र सम्पत्ति रोक्का गरिएको हो ।

यस्तै, डेल्टा सेक्युरिटी सर्भिस प्रालि, रिधान सप्लायर्स, टाइगर जब्स सेक्युरिटी सर्भिस प्रालि, गणपति ट्रेड इन्टरनेसनल, सम्राट ढुवानी सेवाको पनि कारबाहीस्वरुप बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत ढाकाराम तिवारीले जानकारी दिए ।

यस्तै, पर्साको वीरगञ्जकै पटेल किराना स्टोर्स, बूदर टेक्सटाइल इण्डट्रिज, कन्ट्रक्ट एक्सप्रेस कुरियर सर्भिस, कम्प्युट्रोनिक्स कलर ल्याब प्रालि, सुशील किराना स्टोर्स÷ज्योति मनि चेन्जर्स, गहवामाई ट्रान्सपोर्ट प्रालि र सुरज मेसिनरीको पनि बैंक खाता र सम्पति रोक्का गरिएको प्रमुख कर अधिकृत तिवारीले बताए ।

प्रमुख तिवारीका अनुसार कर नबुझाएका करदातामाथि कारबाही गरी आव २०७९–८० मा १४ करोड ३९ लाख रुपैयाँ बक्यौता संकलन गरिएको छ ।

पटकपटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि बुझाउन आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाएका छौँ”, प्रमुख कर अधिकृत तिवारीले भने, त्यही करमा हामीले १९ जना करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्का गरेका छौँ ।” सबै रोक्का भएपछि केही करदाता कर बुझाउनसमेत आएको उनको भनाइ छ ।

नियमित बजार अनुगमन थालेपछि आव २०७९–८० मा करदातासमेत बढेको आन्तरिक राजस्व कार्यालय वीरगञ्जले जनाएको छ । आव २०७९–८० मा पर्सामा व्यावसायिकतर्फको करदाता २ हजार ७ सय ५० र व्यक्तिगत १० हजार २ सय २५ नयाँ करदाता थपिएको प्रमुख कर अधिकृत तिवारीले बताए ।

योसँगै पर्सामा व्यावसायिक ४७ हजार ८ सय ८० र व्यक्तिगत ६६ हजार ५ सय ५५ गरी १ लाख १५ हजार ४३५ करदाता संख्या पुगेको बताइएको छ । यसैबीच, आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले आर्थिक वर्ष २०७९–८० मा ७ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

सो अवधिमा अन्तशूल्कतर्फ ३ अर्ब, आयकरतर्फ ३ अर्ब, मूल्य अभिवृद्धिकरतर्फ १ अर्ब ७४ करोड रहेको छ । यस्तै, ब्याजकरतर्फ ४ करोड र घरबहाल करतर्फ ५ करोड राजस्व संकलन भएको छ । यस कार्यालयले गत आर्थिक वर्ष २०७८–७९ मा ८ अर्ब ७१ करोड ६९ लाख ६० हजार राजस्व संकलन गरेको थियो ।

बढ्दो आर्थिक तरलता, विभिन्न कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह नहुनु, तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबन्धलगायतका कारणले राजस्व संकलन घटेको प्रमुख कर अधिकृत तिवारीको भनाइ छ ।


सम्बन्धित समाचार