Logo

१९ असोज,वीरगञ्ज । लगातारको झरीले पाकेको धान भित्र्याउन तथा काट्न नपाउँदा ठोरीका किसान मर्कामा परेका छन् । केही दिन यतादेखि लगातार परिरहेको झरीले पाकेको धान भित्र्याउन नसक्दा किसान चिन्तित बनेका छन् ।

रोप्ने समयमा पानी नपरेर सुख्खा खेतमा धान रोपेका यहाँका किसानको धान खेत काट्ने बेलामा भने पानीले भरिएको छ । खेतमा धान ढलेर बालामा बिउ उम्रन थालेको ठोरी–४ का किसान कान्छा तामाङले बताउनुभयो । उहाँले एक बिघा खेतमा लगाउनुभएको भदै मन्सुली धान वर्षाका कारण खेतमा नै ढलेको छ ।

धान काट्ने तयारीमा रहनुभएका तामाङ्लाई लगातारको झरीले बाली भित्र्याउन नसक्दा निराश बनाएको हो । यस्तै सोही ठाउँका अर्का किसान टङ्क तिमिल्सिना पनि पाकेको धान बाली भित्र्याउन नपाएर चिन्तित बन्नुभएको छ ।

आकाशको पानी समयमा नपरेर महंगो मुल्यमा सिँचाई गरेर मुख्य बालीको रूपमा गत असारमा लगाएको धान पाकेर काट्ने बेला भए पनि लगातारको वर्षाले धान काट्न नदिएको तिमिल्सिनाले जानकारी दिनुभयो । पाकेको बालीमा लगातार वर्षा हुँदा खेतमै धान उम्रिन र कुहिनथालेको उहाँको भनाइ छ ।

धान राम्रो फलेको भएपनि काट्न समयमा नपाईदा उत्पादन घटने चिन्ता यहाँको किसानलाई छ । धान काट्न ढिला भएको हुँदा खेतभरि पाकेको धानलाई वर्षाले लडाएकोले धेरै बाली खेर जाने डर भएको किसानले बताएका छन् । ठोरीका किसानले धान भित्र्याउन सुरु गरे लगत्तै वर्षा सुरु भएपछि धेरै जसो किसानलाई वर्षभरी खाने मुख्य बाली नै भित्र्याउन हम्मेहम्मे परेको छ ।

ठोरीमा चौंध बयालिस, भदै मन्सुली, गोरखनाथ, चैते चार जस्ता अधिकांश छिटो पाक्ने प्रजातीको धान खेती हुने गरेको छ ।


सम्बन्धित समाचार