Logo

१० कात्तिक,काठमाडौं। कतारको दोहामा पक्राउ परेका आठ जना पूर्व नौ सैनिक अधिकारीलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयले फैसलाबाट आफू स्तब्ध भएको र अब विस्तृत फैसलाको प्रतिक्षामा रहेको जनाएको छ ।

“कतारको कोर्ट अफ फस्र्ट इन्स्टेन्सले अल दहरा कम्पनीका आठ जना भारतीय कर्मचारीको संलग्नता रहेको मुद्दामा आज फैसला सुनाएको हामीलाई प्रारम्भिक जानकारी प्राप्त भएको छ,” विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मृत्युदण्डको फैसलाले हामी स्तब्ध भएका छौँ र विस्तृत फैसलाको प्रतीक्षामा छौँ ।”

“हामी परिवारका सदस्य र कानुनी टोलीसँग सम्पर्कमा छौँ र हामी सबै कानुनी विकल्पहरूको खोजी गरिरहेका छौँ,” विज्ञप्तिमा भनिएको छ । विदेश मन्त्रालयले भनेको छ, “हामी यो घटनालाई उच्च महत्त्व दिन्छौँ र यसलाई नजिकबाट नियालिरहेका छौँ । हामीले सबै परिवारलाई कूटनीतिक तथा कानुनी सहायता प्रदान गर्न जारी राख्नेछौँ ।

“हामी कतारी अधिकारीहरूसँग पनि सम्पर्क गरी थप निर्णय लिनेछौँ,” विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस मुद्दाको कारबाहीको गोप्य प्रकृतिका कारण यस घडीमा थप टिप्पणी गर्नु उपयुक्त हुने छैन ।”

सन् २०२२ को अक्टोबरदेखि कतारमा रहेका ती आठ भारतीय नागरिकमाथि पनडुब्बी कार्यक्रमका लागि जासुसी गरेको आरोप लागेको थियो । नयाँ दिल्लीले ती आठ जना भारतीयलाई सल्लाहका लागि पहुँच प्रदान गरेको थियो र उनीहरूको रिहाइका लागि काम गरिरहेको थियो ।

मार्चको अन्त्यमा ती भारतीय नागरिकको मुद्दामा पहिलो सुनुवाइ गरिएको थियो । त्यसपछि ग्वालियरमा बस्दै आएकी एक पूर्व नौसैनिक अधिकारीकी बहिनी मितु भार्गवले आफ्नो भाइलाई फिर्ता ल्याउन भारत सरकारसँग सहयोगको याचना गर्नुभएको थियो । गत जुन ८ मा एक्स (ट्विटर) मा एक पोस्ट लेख्दै उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुद्दामा हस्तक्षेप गर्न आग्रह गर्नुभएको थियो । एजेन्सी


सम्बन्धित समाचार