Logo

जनकपुर, मंसिर २४। मधेश प्रदेश सरकारले प्रदेशमा विकास प्रायः विकास निर्माणका कार्यहरु उपभोक्ता समिति मार्फत गराउने गरेको छ । तर उपभोक्ता समितिले मधेश सरकारका विकास निर्माणका कार्य सम्पन्न गरेको लामो समय भएपनि अहिलेसम्म उनीहरुले रकम नपाएको भन्दै पूर्वाधार विकास कार्यालय जनकपुरधाममा तालाबन्दी गरेका छन् ।

चालु आर्थिक वर्ष ०७८/०७९ मा सम्पन्न भइसकेका कामको बक्यौता भुक्तानीका लागि पटक-पटक उपभोक्ता समितिवालाहरुले तालाबन्दी गरपेनि आश्वासन मात्र पाएको भन्दै उनीहरु आक्रोशित हुँदै तालाबन्दी गरेका हुन् ।

आक्रोशित उपभोक्ता संघर्ष समितिका अध्यक्ष प्रमोद यादवले आफूहरूले समयमै विकास निर्माणको कार्य सम्पन्न गरेपनि अहिलेसम्म बक्यौता रकम नपाएको गुनासो गरे ।

उनले असार २३ मै विकास निर्माण कार्य सम्पन्न भएको योजनाको फाइल कार्यालयमा जम्मा गरिसकेको अवस्थामा कार्यालयका इन्जिनियर र लेखापालले सर्भर डाउन रहेको कारण देखाउँदै चेक नबनाउँदा समस्या उत्पन्न भएको बताए ।

उनले आफूहरूको बक्यौता रकम चाँडै भुक्तानी नभएमा चरणवद्धरुपमा आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

उनले मधेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रदेशसभा सदस्यको गरी करीब दुई सय उपभोक्ता समितिको एक अर्ब रुपैयाँको हाराहारीमा भुक्तानी हुन बाँकी रहेको बताए ।
मधेस प्रदेशमा यसअघि आर्थिक वर्ष ०७५÷०७६ मा समेत सयौँ योजनाको भुक्तानी हुन सकेको थिएन ।

उपभोक्ता समितिले दाबी गरे अनसार १ अर्ब १५ करोड रुपैयाँ बक्यौता भुक्तानीमा संसदीय छानबिन समितिले सदर गरेअनुसार ८७ करोड रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गरेको थियो ।


सम्बन्धित समाचार