१० पुस,काठमाडौं। मध्य नाइजेरियामा सशस्त्र समूहले श्रृंखलाबद्ध आक्रमण गरी कम्तीमा १६० जनाको हत्या गरेको छ । आइतबार र सोमबार राति भएको आक्रमणमा ३०० भन्दा बढी मानिस घाइते भएका छन् ।
धार्मिक र जातीय द्वन्द्व भइरहेको मध्य–नाइजेरियामा स्थानीय रुपमा डाँकु भनिने सशस्त्र समूहले आक्रमण गरेको प्लेटु राज्यको बोकोसका सरकारी अधिकारीले बताएका छन् । सशस्त्र समूहले विभिन्न ठाउँमा बस्तीहरुमा आगजनी गरेको र घातक हतियार प्रयोग गरेको अधिकारीहरुको दाबी छ।
यी क्षेत्रमा मुस्लिम र क्रिश्चियन धर्म मान्नेबीचमा लामो समयदेखि द्वन्द्व छ । एम्नेष्टी इन्टरनेसनलले आक्रमणको निन्दा गर्दै नाइजेरिया सरकार बारम्बार हुने हिंसा रोक्न असफल भएको आरोप लगाएको छ।
उत्तर–पश्चिम र मध्य नाइजेरियामा लामो समयदेखि सक्रिय डाँकु छापामार र गुण्डाहरुको समूहले स्थानीयलाई लुट्ने, अपहरण गर्ने र फिरौती उठाउनेदेखि हत्याको श्रृंखला चलाइरहेको द गार्जियनले जनाएको छ। एजेन्सी