Logo

८ माघ,काठमाडौं। भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको ‘प्राण प्रतिष्ठा’ आज हुँदैछ। गर्भगृहमा रामको बालस्वरूप मूर्ति राखेर विभिन्न पूजन कार्य थालिएको छ। गत बुधबार सुरु भएको हवन तथा पूजन कार्यपछि आज प्राणप्रतिष्ठा हुनेछ।

यसअघि पूर्व शुभ संस्कार प्रारम्भ अर्थात् प्रायश्चित तथा कर्मकुटी पूजन भइरहेको हो। आज राममन्दिरमा मूर्तिको प्रवेश, तीर्थपूजन, जलयात्रा, जलाधिवास, औषधाधिवास, केसराधिवास, धृताधिवास, धान्याधिवास, शर्कराधिवास, फलाधिवास, पुष्पाधिवास, मध्याधिवास र शड्ढयाधिवास भई सम्पन्न हुनेछ।

बुधबार राति क्रेनको सहायताले रामललाको मूर्ति राममन्दिर परिसरमा ल्याएर बिहीबार मूर्तिलाई गर्भगृहमा राखिएको हो। यसैबीच अयोध्यामा बनाइएको भव्य राममन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा कार्यक्रममा मन्दिर ट्रस्टले ७ हजारभन्दा बढीलाई सहभागी हुन आमन्त्रण गरेको छ।

जसमा क्रिकेट हस्ती सचिन तेन्दुलकर र विराट कोहली, बलिउड सुपरस्टार अमिताभ बच्चनलगायत छन्। उद्योगपति मुकेश अम्बानी, गौतम अडानी, रतन टाटालगायतलाई पनि सहभागिताका लागि आमन्त्रण गरिएको छ।

मन्दिर उद्घाटनको भव्य समारोहका लागि सहर सजाइएको छ। प्राणप्रतिष्ठाको मुख्य ‘यजमान’ प्रधानमन्त्री नरेन्द्र मोदी हुनेछन्। विगत ७० वर्षदेखि टेन्टमा राखेर पूजा गरिँदै आएको भगवान् रामको विद्यमान मूर्तिलाई पनि नयाँ मन्दिरको गर्भगृहमा राखिने मन्दिर ट्रस्टले जनाएको छ।

 


सम्बन्धित समाचार