Logo

९ माघ,जनकपुरधाम। डा.सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनसँग एक सिट माग गर्दै आएको थियो। तर सिट नपाएपछि मधेस प्रदेशमा र लुम्बनी प्रदेशमा एक एक सिटमा उम्मेदवारी दर्ता गराएका छन्।

सत्ता गठबन्धनमा नै रहेर जनमत पार्टीले आफ्नो छुट्टै उम्मेदवारी दर्ता गराएपछि गठबन्धन भित्रमै रहेका दलहरु बीचमा असन्तुष्टि देखिएको छ। सत्ता गठबन्धनमा जनमत पार्टीले संघमा एक मन्त्री सहित योजना आयोगको सदस्य पद समेत पाएका छन्।

त्यसैगरि मधेस प्रदेशमा दुई मन्त्री र नीति आयोगमा एक जना सदस्य पाएका छन्। सत्ता गठबन्धनमा निकै लाभ लिँदै आएको जनमतले भने रहेक निर्वाचनमा गठबन्धनको विरुद्धमा आफ्नो उम्मेदवारी दिँदै आएको छ।

यसले समेत सत्ता गठबन्धनमा रहेका अन्य दलहरुले जनमतको क्रियाकलापबाट असन्तुष्टि जनाएको छ। मधेस प्रदेशमा राष्टिय सभाको दुई सिट मध्ये जनमतले अन्य तर्फ राम शंकर महासेठलाई उम्मेदवार बनाएको छ। गठबन्धनबाट सो पदमा नेपाली काग्रेसका आनन्दप्रसाद ढुंगाना उम्मेदवार बनेका छन्।

मधेस प्रदेशमा जनमतले सत्ता गठबन्धनको उम्मेदवार ढुगानालाई मत नदिदा समेत गठबन्धनको दुई उम्मेदवारको जित सुनिश्चित जस्दै देखिएको छ। महिलातर्फ जसपा नेपालका उम्मेदवार पूजा चौधरी चुनावी मैदानमा छन्।

मधेस प्रदेशमा दलहरुको मतभार हेर्दा नेपाली काग्रेस पहिलो शक्ति हो। काग्रेससँग मात्रै ३ हजार १ सय ६१ मत भार रहेको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग २ हजार ३ सय ५५ मतभार छ। जनमत पार्टीको मतभार ७ सय ४६ छ।

गठबन्धनमा रहेका दलहरु नेपाली काग्रेस,जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीको मतभार जोडदा ७ हजार ५ सय ४१ पुग्छ।

यस्तोमा जनमतले गठबन्धनमा रहेरै उम्मेदवारी दिँदा समेत कुनै फरक पर्ने अवस्था भने देखिँदैनन्। तर पनि गठबन्धनमा रहेर जनमतले आफनो उम्मेदवारी दिएर मधेसको अधिकार र पहिचानको लागि आफू जहाँ रहेर पनि विद्रोह गर्ने सन्देश दिने प्रयासमा छन्।

सत्ता गठबन्धनमा जनता समाजवादी पार्टी सहभागी भएपनि चिढिएका छन्। गत निर्वाचनमा सहयात्री रहेको नेपाली काग्रेसंगको सहकार्य तोडेर माओवादी केन्द्रले नेकपा एमालेसँग सहकार्य गरेपछि जनमत माओवादी एमालेको गठबन्धनमा सहभािगता जनाएको थियो।

नयाँ गठबन्धनको निर्माण भएपछि जसपाले अहिलेको सत्ता गठबन्धनको साथ नछाडेपनि समय समयमा गठबन्धनको निर्णयको विरुद्धमा आफनो छुटटै उम्मेदवारी दिँदै आएको छ।

जनमतले उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएका थिए भने गठबन्धनका साझा उम्मेदवार रहेका बारा २ मा उपेन्द्र यादवकै विरुद्धमा उम्मेदवारी दिएका थिए। मधेस केन्द्रित दलमा देखिएको तिक्ता कै कारणले जनमत गठबन्धनको धेरै जसो निर्णयमा असहमति राख्दै आएको छ।

नेपाली काग्रेसका सहमहामन्त्री महेन्द्र यादवले जनमत पार्टीमा राजनीतिक परिपक्ताको आभाव देखिएको बताए। उनले संघदेखि प्रदेश सम्मको गठबन्धनमा नेपाली काग्रेसकै कारणले जनमत गठबन्धनमा अहिले सम्म टिकेको तर राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवारी दिएर उसले फेरि एक पटक राजनीतिक परिपक्ताको आभाव देखिएको बताए।

जनमत पार्टी सबै भन्दा बढी आक्रमक रुपमा जसपा प्रति प्रस्तुत हुँदै आएको छ। मधेसमा जनमतले आफ्नो प्रतिस्पर्धी शक्तिको रुपमा बुझ्ने गरेका छन्। ३ गते मुख्यमन्त्रीको कार्यक्रममा गरेको विरोध प्रदर्शन समेत यसैका रुपमा लिइएको छ।

जनता समाजवादी पार्टीका नेता एवं मुख्यमन्त्री सरोजकुमार यादवले जनमतलाई केन्द्रमै बनेको गठबन्धनको आधारमा प्रदेशमा समेत राखिएको बताउँदै उसले रहेक निर्वाचनमा गठबन्धनको विरुद्धमा जाने गरेको कारणले गठबन्धनमा सहभागि दलले उसको क्रियालकापको विषयमा सोच्नुपर्ने समय आएको बताए। उनले जनमत पार्टी राजिनितिक प्रचारवाजीमा बढी विश्वास गर्ने गरेको कारणले हार्दै छु थाहा पाउँदा पाउँदै राजनीतिक प्रचारवाजीकै लागि यस्तो कार्य गर्ने गरेको बताए।

जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले गठबन्धनमा रहेका दलहरुले आफनो धर्म निर्वाह नगरेको कारणले आफुहरुले उम्मेदवारी दिएको बताए। उनले भने, ‘माधव नेपालको पार्टी राष्ट्रिय पार्टीपनि हैन। जसपा भन्दा हामीहरुको मत पनि विगतको निर्वाचनमा बढी छ।

तर उहाँहरुलाई सिट दिने जनमतलाई नदिने गठबन्धन दलको रवैयाको कारणले उम्मेदवारी दिएका हौं।’ उनले हार र जित भन्दा पनि जनमत आफ्नो सम्मान र मूल्यममान्यताको आधारमा अगाडि बढनुपर्छ भन्ने विचारमा अडिग छ भन्ने सन्देश दिएको बताए।

 


सम्बन्धित समाचार