Logo

११ माघ,जनकपुर । राष्ट्रिय सभा सदस्य निर्वाचनलाई लक्षित गरी प्रभु साह नेतृत्वको आम जनता पार्टीले गरेको मधेश प्रदेश बन्दको आंशिक प्रभाव परेको छ ।
मधेश बन्दले राष्ट्रिय सभा निर्वाचनलाई असर नगरे पनि निर्वाचनमा सहभागी भएका मतदाता भने सामान्य असर परेको छ ।

मधेश प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्य चयनका लागि राजधानी जनकपुरधाममा बिहान ९ बजेदेखि नै मतदान जारी छ । मतदान भने शान्तिपूर्ण भइरहेको छ ।
बन्द सफल बनाउन भन्दै आजपाका नेता–कार्यकर्ताहरु विहानैदेखि सडकमा उत्रिएका छन् । मधेशको आठ वटै जिल्लामा आजपाका नेता–कार्यकर्ता बन्दका लागि सडकमा प्रदर्शन गरिरहेका छन् ।

बन्द गराउने क्रममा जनकपुरको रामानन्दचोकमा एक सरकारी सवारीसाधन तोडफोड गर्ने क्रममा दुई दर्जन नेता–कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको आजपाका केन्द्रीय सदस्य विजय साहले जानकारी दिए ।

यस निर्वाचनमा सहभागी हुन आएका प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षसहितको सरकारी सवारीसाधनलाई विशेष टार्गेट बनाएर तोडफोडसहितका गतिविधिमा केन्द्रित हुनका लागि आजपाले आफ्ना कार्यकर्तालाई निर्देशन नै दिएको छ ।

बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै आजपाले आज एक दिन मधेश बन्द घोषणा गरेको आजपाका नेता साहले बताए ।

यस बन्दका कारण एक दिन अघि नै सबै जिल्लाबाट मतदाता आएर जनकपुरधाममा बसेका थिए ।
उनीहरुलाई मतदान केन्द्रसम्म प्रहरीले स्कर्टिंग गरी ल्याइ रहेको छ भने सबै मतदातालाई विभिन्न चरणमा गरी बसमा एकै पटक ल्याउने गरेको छ ।

यस निर्वाचनमा सत्तागठबन्धनबाट कांग्रेसको तर्फबाट अन्य समूह पदमा आनन्दप्रसाद ढुंगाना, जसपाको तर्फबाट महिला समूह पदमा पुजा चौधरी, नेकपाप एमालेको तर्फबाट अन्य समूह पदमा कुमारी विजेता झा, महिला समूह पदमा उषादेवी थरुनी र जनमत पार्टीबाट अन्य समूह पदमा रामशंकर महासेठ प्रतिष्पर्धी छन् ।
सत्तागठबन्धनको प्रायः जित सुनिश्चित जस्तो नै छ ।

इता अहिलेसम्म करिब ४० प्रतिशत भन्दा बढी मतदाताले मतदान गरिसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार