Logo

१ चैत,वीरगञ्ज । पर्साको पटेर्वासुगौलीमा आंतक मच्चाएको पाटेबाघ नियन्त्रणमा आएको छ । सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ बाट भाले पाटेबाघ नियन्त्रणमा लिएको डिविजन वन कार्यालयले जनाएको छ ।

थापाटाँडी गाँउदेखि नौगछिया जाने सडकखण्डस्थित उखुवारीबाट भाले पाटेबाघ नियन्त्रणमा लिएको हो । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निक्ुञ्ज र सब डिविजन वन कार्यालय रंगपुरको टोलीले डार्टगन गरी बाघ नियन्त्रणमा लिएको वन कार्यालय प्रमुख हेमन्त साहले जानकारी दिए । नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्जको टोलीले लिएर गएका छन् ।

उक्त बाघ नियन्त्रणमा लिनकै लागि एक सातादेखि चितवन राष्ट्रिय निकुञ्ज, पर्सा निकुञ्ज, सब डिविजन वन कार्यालय गरी १६ जनाको संयुक्त प्राविधिक टोली, ३ वटा हात्ती सो क्षेत्र आसपास खटिएका थिए ।

बाघ लुकेर बस्ने र शिकार देख्नासाथ आक्रमण गर्ने भएकाले टोलीले ‘पग मार्क’ पच्छ्याउदैँ बाघको खोजी गरेका प्रमुख साह बताउँछन् । टोलीले सम्भावित क्षेत्रहरुमा सिसिटिभी क्यामेरा समेत जडान गरेर बाघको सर्चिङ गरेको हो ।
विगत केहि महिनादेखि उक्त बाघले राष्ट्रिय वनसँग सिमा जोडिएका वस्ती प्रवेश गरेर उपद्रो मच्चाउँदै आएको थियो ।

दिनदहाडै बाघ बस्ती प्रवेश गरेर मानिस तथा पशुचौपायालाई आक्रमण समेत गर्ने गरेको थियो । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो भने दुईजना घाइते पनि भएको थियो । यस्तै बाघले दर्जनौँ चौपाया पनि मारेको थियो ।

यसअघि फागुन १९ गते पर्साको सखुवाप्रसौनी गाउँपालिकामा पोथी पाटेबाघ मृत भेटिएको थियो । सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर २ रामभौरीस्थित खाली खेतमा एउटा पोथी बाघ मृत अवस्थामा भेटिएको प्रमुख साहको भनाइ छ ।


सम्बन्धित समाचार