Logo

२ चैत, काठमाडौं । सुन तस्करीमा संलग्न व्यक्तिहरुलाई जोगाउन अनुसन्धान बाहिर राखि पदको दुरुपयोग गरेको ठहर गर्दै छानबिन आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यलाई कारवाही सिफारिस गरेको छ ।

अनुसन्धान गर्ने ठाउँमा बसेर तस्करीमा संलग्न व्यक्तिलाई जोगाउन भूमिका खेलेको पुष्टि भएकाले आयोगले विभागीय कारवाहीको सिफारिस गरेको हो । गृहमन्त्री रवि लामिछानेले उनीमाथि विभागीय कारवाही अघि बढाउन लागेका छन् ।

सुन तस्करीमा संलग्न जीवन चलाउने भन्ने व्यक्तिको बयान नै च्यातेर उनलाई फरार बनाउन भूमिका खेलेको आरोप एआईजी बज्राचार्यमाथि लागेको छ । उनीसँगै सिआईबीका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस भएको छ ।

गृहमन्त्री लामिछानेले आज साँझ सम्म प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्य लगायत चार प्रहरी अधिकृतलाई विभागिय कार्वाहीको निर्णय गर्ने बताइएको छ । सिआईबी प्रमुखमा अनुसन्धानमा दखल राख्न सक्ने अफिसर पठाउन प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई गृहमन्त्रीले निर्देशन दिएका छन् ।

सुन तस्करी अनुसन्धानमा सीआईबीको भूमिकामा प्रश्न उठाउँदै तत्कालीन प्रमुख प्रतिपक्ष नेकपा एमालेले छानबिन आयोग गठनको लागि सदन अवरोध गरेर दबाब दिएको थियो । छानबिनका क्रममा सीआईबीको अनुसन्धानका क्रममा गम्भीर लापरवाही र दोषीलाई उम्काउने खेल भएको पाइएको हो ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले गरेको अनुसन्धानका क्रममा ६० किलो सुन तस्करीको अनुसन्धानमा सीआईबीले गम्भीर लापरवाही गरेको उल्लेख गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए ।

जो माथि अनुसन्धान गर्नु पर्ने हो उनीहरूलाई अनुसन्धाननै नगरी भएका प्रमाणसमेत नष्ट गर्न सीआइबीले भूमिका खेलेको देखिएको छ ।

सुन तस्करी नाइके दावा छिरिङसँग सम्बन्ध देखिएका जीवन चलाउने र चलाउनेसँग सम्बन्ध देखिएका पूर्वप्रहरी प्रमुख सर्बेन्द्र खनाललाई जोगाउन सीआईबीका अधिकारीहरूले प्रमाण नष्ट गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


सम्बन्धित समाचार