Logo

३ चैत, बीरगन्ज । रौतहतको शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साह गोली प्रहार काण्डमा पक्राउ परेका तीनजना भारतीयलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले आज एक पत्रकार सम्मेलन गरी तीनै जना भारतीयलाई सार्वजनिक गरेको हो ।

प्रहरीले पत्रकार सम्मेलनमार्फत भारत विहार पूर्वी चम्पारण मोतिहारी जिल्ला थाना चिरैया दिपही बस्ने मुनिफ कुमार यादव सोही गाउँका राजुकमार पासवान र चन्द्रभान सिंहलाई सार्वजनिक गरेको हो ।

पक्राउ परेका तीनै जनाले शुक्रबार (हिजो) दिउँसो शिव मनी ट्रान्सफरका सञ्चालकमाथि एक राउण्ड गोली प्रहार गरी घाइते बनाएका थिए ।

गोली प्रहार गरी भाग्दा प्रहरी र स्थानीयको सहयोगमा तीनै जनालाई हिजै सीमा नजिककै घिउराबाट पक्राउ गरिएको रौतहट प्रहरी प्रवक्ता एलिजा गिरीको भनाइ छ ।

तीनै जनाले भारतबाट ल्याएको एक थान इटालियन पेस्तोल र एक थान कटुवा पेस्तोलसहित अर्ध स्वचालित पेस्तोलमा प्रयोग हुने गोली राउण्ड ५ थान तथा कटुवा पेस्तोलमा प्रयोग हुने ८ एमएम क्यालिबर गोली राउण्ड एक थान बरामद भएको उनी बताउँछिन् ।

पक्राउ परेका तीनै जनामाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरसहित ३ वटा मुद्दा अन्तर्गत म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी गरिएको प्रहरी प्रवक्ता गिरीले बताइन् ।

उनीहरुको साथबाट प्रहरीले बीआर ०६ सीएल ९७९६ नम्बरको भारतीय मोटरसाइकसमेत बरामद गरेको जनाएको छ । तीनै जनाले शिव मनी ट्रान्सफरबाट १ लाख २५ हजार ५ सय रुपैयाँ लुटेको प्रहरी प्रवक्ता गिरीको भनाइ छ ।

यसरी बनेको थियो लुटपाटको योजना ?

साहले सञ्चालन गरेको शिव मनी ट्रान्सफरमा लुटपाट गर्न आज आज भन्दा तीन महिना अगाडि नै योजना बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले लिएको बयानमा यसको मुख्य नाइके चन्द्रभान सिंह रहेको पाइएको छ ।

प्रहरीका अनुसार सिंहले केही महिना अगाडि शिव मनी ट्रान्सफरको निगरानी गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिंहको बयान छ,‘त्यस दौरान मनी चेन्जरमा गार्ड नभएको देखे, पैसा कुनकुन बेला बढी आउने रहेछ त्यो वाच गरे । कुन समयमा लुटपाट गर्ने सबै रेकी गरिसकेपछि पुनः काममा फर्के ।’

प्रहरीका अनुसार आज भन्दा करिब ३ महिना अगाडि भारतीय नागरिक सिंह शिव मनी ट्रान्सफरको रेकी गरेका थिए ।

प्रहरी प्रवक्ता गिरी भन्छिन्,‘सिंह गोवाको एउटा क्लबमा काम गर्छ, त्यहाँबाट छुटी लिएर अहिले आएको देखिन्छ । २० दिनको छुट्टीमा आएको सिंहले ५ दिन अगाडि आफ्ना साथीसंग आएर पुनः मनी चेन्जरको रेकी गरेको थियो ।’ अनि त्यसपछि लुटपाट गरेको प्रहरीमा सिंहले बयान दिएका छन् ।

प्रहरी अनुसन्धानबाट सिंहसहितकाले यसअघि मोतिहारीको ग्रामिण भेगमा रहेको एउटा बैंकमा समेत लुटपाट गरेको खुलेको छ । प्रहरीका अनुसार त्यहाँको बैंकमा लुटपाट गरेको आरोपमा सिंह भारतीय जेलमा समेत बसेको थिए ।

१० हजार भारुमा २ वटा हतियार खरिद

लुटपाट गर्ने सिंहसहितको टोलीले योजना बनाइसकेपछि त्यसका लागि हातहतियारको बन्दोवस्तीतर्फ लाग्यो । हातहतियार बन्दोबस्तीका लागि सिंहले विहारकै मुगेर जिल्ला पुगेको प्रहरीमा बयान दिएका छन् ।

मुगेर जिल्ला पुगेर उनले त्यहाँबाट इटालियन पेस्तोल र कटुवा पेस्तोल खरिद गरेको प्रहरीसमक्ष बयान दिएको स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार सिंहसहितका ग्याङ्गले त्यहाँबाट १० हजार भारतीय रुपैयाँमा २ वटै पेस्तोल गोली खरिद गरेका हुन् ।

उनीहरुले प्रहरीमा दिएको बयानमा भनेका छन्,‘हामी आफ्नो योजनाअनुरुप हतियार खरिद गर्‍यो, १० हजार भारुमा २ वटै हतियार किनेर आयौं । तयसपछि हाम्रो योजना होलीमा लुटपाट गर्ने थियो । तर अस्ति रेकी गर्दा अहिले नै सजिलो भएपछि हामी लुटपाट गर्न आयौं ।’


सम्बन्धित समाचार