Logo

८ चैत, जनकपुर । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वर्तमान गठबन्धनको सरकारले संसद अवधिसम्म मिलेरै काम गर्ने बताएको छ ।
जनकपुरधामस्थित विमानस्थलमा बिहीबार संचारकर्मीहरुसंग बोल्दै मन्त्री महासेठले प्रतिपक्षमा रहेका दलहरूसहितको सहकार्यमा वर्तमान गठबन्धन सरकारले देश विकासका लागि काम गर्ने बताए ।

भौतिक पूर्वाधारको विकास विना देशको समृद्धि नसक्ने भएकाले मुलुकको हुलाकी राजमार्ग, महेन्द्र राजमार्गलगायतका विभिन्न सडकको विस्तार निर्माणको काम तिव्ररुपमा भइरहेको उनले बताए ।

नेपाली कांग्रेसले अहिले आएर गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्नु नियतवश रहेको बताउँदै उपप्रधानमन्त्री महासेठले भने, ‘ रवि लामिछानेज्यूलाई प्रधानमन्त्री अफर गर्ने गरेहरुले गृहमन्त्रीको राजीनामा मागेर विरोध गर्नु गलत नियत हो । वहाँको बारेमा पनि अनुसन्धान भइरहेको छ । आरोप प्रमाणित भएमा वहाँलाई पनि कारबाही हुन्छ । तर यसै विषयमा भने संसदीय समिति गठन माग गर्नु गलत हो ।’

कांग्रेस प्रतिपक्षमा गए पनि सहकार्य भइरहेको बताउँदै उनले अहिलेको स्थितिमा कांग्रेसले बाहिर नै बसेर सरकारलाई सहयोग गरिरहेको बताए ।

उनले धनुषामा अधुरा रहेका सडक, पुल पुलेसा र अन्य विकास निर्माणका काम आफ्नै पालामा सम्पन्न गर्नेगरी काम गर्ने बताए ।

उनले मधेश प्रदेश सरकारसहित सातवटै प्रदेश सरकार पुनर्गठनका विषयमा गठबन्धन दलहरुबीच छलफल भइरहेको बताए ।

नेकपा एमालेको तर्फबाट नेतृत्व गर्दै सरकारमा सहभागी भएपछि पहिलोपटक गृहनगर जनकपुरधाम आउनेक्रममा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठलाई जनकपुरधाममा नेता तथा कार्यकर्ताहरुले स्वागत गरेको थियो ।

मालाको भारले महासेठलाई स्वागत

३११ किलोग्रामको माला लगाएर स्वागत गरेका कार्यकर्ताहरुले उपप्रधानमन्त्री महासेठको शुभ दिनको कामना गर्दै मिथिला संस्कृतिको मौलिक परम्परा अनुसार माछा र दहीको भारसहितका विभिन्न सामग्रीसहित लिएर कार्यकर्ताहरुले स्वागत तथा सम्मान गरेको छ ।

उनलाई ३ सय ११ किलोग्रामको फुलको माला लगाएर उपप्रधानमन्त्री महासेठका समर्थक, नेता तथा कार्यकर्ताहरूले मिथिलाको परम्परा अनुसार माछा र दहीको भारसहितका सामग्रीहरु लिएर नौलो ढंगले स्वागत गरेको थियो । भने जिल्ला ट्राफिक प्रहरी कार्यालयमा समेत उनलाई स्वागतसहित सम्मान गरेको छ ।


सम्बन्धित समाचार