Logo

३० चैत,वीरगञ्ज । भोलिदेखि शुरु हुने विक्रम संवत २०८१ को नयाँ वर्षको अवसरमा विभिन्न ठाउँमा महोत्सव र साँस्कृतिक कार्यक्रम हुँदैछन् । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उदेश्यले यस्ता कार्यक्रम आयोजना गरिएका हुन् ।

पर्यटकीय ठाउँमा रहेका होटलहरुले नयाँ वर्षको अवसरमा विभिन्न किसिमका छुटको अफर पनि ल्याएका छन् । वीरगन्जमा पर्यटक भित्रयाउन र रमाईलो गर्न नयाँ वर्ष लक्षित रात्रि बजार लगाइएको छ ।

वीरगंज महानगरपालिकाको आयोजनामा हिजोदेखि वीरगन्जको अदर्शनगरमा ३ दिने रात्री बजारको आयोजना गरिएको हो । गत वर्षदेखि शुरू गरेको रात्रिकालीन बजार यस वर्ष पनि नयाँ वर्ष २०८१ लाई लक्षित गरेर आयोजना गरिएको मेला समितिका सल्लाहकार प्रकाश खेतानले बताउनुभयो ।

रात्री बजारमा यो वर्ष १४० वटा स्टल राखिएको छ । विभिन्न परिकारका खाद्यान्न स्टल, घरेलु उत्पादन, मार्बल, टायल्ससमेतका पसलहरु रहेका छन् । उहाँले गत नयाँ वर्ष २०८० लाई लक्षित गरेर पाँच दिने रात्रिबजार लगाइएकोमा सात करोडको कारोबार भएको र यस वर्ष तीन दिनमा नै गत वर्षको लक्ष्य पूरा गर्ने प्रयास गरिएको बताउनुभयो । यसपटक छिमेकी शहर भारतको रक्सौलसमेत आसपासबाट मानिसहरू सहज आवतजावत गर्न दुवैतर्फको भन्सार नाका अबेर राति १ बजेसम्मका लागि खुला गरिएको छ ।

हिजो पहिलो दिनको रात्रि बजारमा छिमकी देश भारत लगायत छिमेकी जिल्ला बारा, मकवानपुर र आफ्नै पर्सा जिल्लाबाट ठूलो सङ्ख्यामा मानिसहरू सहभागी भएका खेतानले बताउनुभयो । हिजो आएको हावाहुरीले गर्दा हल्का प्रभावित भएपनि खासै ठुलो असर नपरेको उहाँले बताउनुभयो । यस्तै पिकनिक र रमाईलो गर्नका लागी वीरगन्जको भिस्वामा रहेको भिस्वा पार्क, भुटनदेवी जस्ता ठाउँ रहेको स्थानीयले बताएका छन् ।

साँझको समयमा घुमफिर गर्न र रमाईलो गर्न वीरगन्जको घडिअर्वा पोखरी पनि रमनिय ठाउँ रहेको छ । यस्तै पर्साको ठोरी, पर्सागढीका जङ्गल छेउका ठाउँहरु नयाँ वर्षको लागी पिकनिक तथा रमाईलो गर्ने उपयुक्ति ठाउँ भएको बुद्धिजीवीहरुले बताएका छन् ।

उता बाराको काटबासीमाई, रौतहटको नुनथर, भरतताल जस्ता ठाउँमा रमाईलो गर्नका लागी उपयुक्त रहेका छन् । यस्तै पर्यटकीय गन्तव्य चितवनको सौराहामा नयाँ वर्षमा पर्यटकलाई आकर्षित गर्न विभिन्न सांस्कृतिक तथा कन्सर्ट कार्यक्रम हुँदैछ ।

रेबान र हानको समन्वयमा सौराहामा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै कार्यक्रम गर्न लागिएको हो । १ सय ५० वटाभन्दा बढी होटल रहेको सौराहामा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ ।

काठमाण्डौ, ललितपुर, भक्तपुर, लुम्बिनी लगायतका अरु पर्यटकीय ठाउँमा पनि नयाँ वर्ष लक्षित विभिन्न कार्यक्रम आयोजना गरिएका छन्


सम्बन्धित समाचार