Logo

९ बैशाख, काठमाडौंं । नेपाल राष्ट्र बैंकको नीतिको कारण नेपालमा सुनचाँदी लगायत बहुमूल्य धातुको अवैध कारोवार बढ्दै गएको दावी सुनचाँदी व्यवसायीहरुको छ । राष्ट्र बैंकले सुन र चाँदीमा कोटा प्रणाली लगाएर बहुमूल्य धातु हिरा (डायमण्ड) आयातमा खुल्ला गरेको छ ।

सुनचाँदीको अवैध कारोवार गर्ने माफियालाई फाइदा पुग्नेगरी राष्ट्र बैंकले कार्यविधि बनाएको छ । बहुमूल्य हिरा (डायमण्ड) आयातमा खुल्ला गरी डायमण्डमा भंसार दरवन्दी समेत १ प्रतिशत कायम गरेको छ । सुनचाँदीमा भने भंसार महशुल १५ प्रतिशत तोकेको छ ।

विदेशी विनिमय मुद्रा संचितीमा समस्या आउने भन्दै बहुमूल्य धातु खरिदमा नेपाल राष्ट्र बैंकले कोटा प्रणाली लगाउँदै आएको छ । सुनमा कोटा लगाएर आयात गर्ने अधिकार समेत निजी क्षेत्रलाई दिएको छैन । सुनको आयात गर्ने अधिकार राष्ट्र बैंकले तोकेका बाणिज्य बैंंकहरुलाई मात्र दिएको छ । ती बैंकहरुले दैनिक २० किलो भन्दा बढी सुन आयात गर्न नपाउँने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

सुनचाँदीको तुलनामा बहुमूल्य धातुको रुपमा रहेको हिरा (डायमण्ड) आयातमा व्यापारीलाई सहुलियत दिएर सुन र चाँदीको अवैध कारोवारीलाई फाईदा पुग्ने काम राष्ट्र बैंकले गरेको छ । सुनचाँदीको कारोवार गर्ने व्यापारीले एक पटक खरिद गरेको डायमण्डलाई पटक पटक आयात गरेको देखाउदै भारत तर्फ बैधानिक रुपमा रकम पठाउने बाटो खोलिदिएको एक व्यवसायीले बताए ।

डायमण्ड खरिद गरेको देखाएर बैधानीक रुपमा भारत तर्फ पैसा पठाउने काम हुने गरेको एक व्यवसायीले बताए । हवाईमार्ग भएर खरिद गरेको डायमण्ड भंसारमा १ प्रतिशत राजश्व तिरेर ल्याउन पाइन्छ । त्यहीँ डायमण्ड सडक मार्ग हुदै भारत लैजाने र उताबाट हवाई मार्ग हुदै फर्किदा पुन भंसार महशुल तिर्ने गरिन्छ ।

यसरी एउटै परिणामका डायमण्ड एक पटक भंसार तिरेर भित्राएको अवस्थामा फेरि त्यसैलाई पटक पटक भंसार तिरी सामान आयात गरेको देखाउने गरेको ती व्यवसायीले बताए । न्यूरोडमा सुन, चाँदी र डायमण्डको कारोवार गर्ने अधिकांंश व्यापारीको भारत स्थित दिल्ली, मुम्बई र कोलकातामा अफिस राखेर सुनचाँदीको कारोवार गर्दै आएको स्रोतको दावी छ ।

भारतमा भएका नजिकका नातेदारको नाउँमा कम्पनी वा फर्म खोलेर बसेका न्यूरोडका सुनचाँदी व्यवसायीले डायमण्ड आयातको नाउँमा बैक मार्फत भारत रकम पठाउने गरेको एक व्यवसायीले बताए । नेपालबाट बैधानीक रुपमा रकम पठाउँदा भारतमा संचालनमा रहेका आफ्नै कम्पनीको नाउँमा रकम जाने गरेको ती व्यवसायीको दावी छ ।

न्यूरोडमा रहेका केही सुनचाँदीका पसलमा भारतमा बनेका अत्याधुनिक गहना देख्न पाइन्छ । उनीहरुले तयारी गहनाको खरिद गरेको रकमको भुक्तानी यहीँ प्रकृयाबाट गर्दै आइरहेको एक व्यवसायीले बताए । यस्तो कार्यमा जेजे ज्वेलर्सका संचालक पवन कुमार सोमानी, उनका व्यापारीक साझेदार दिपक मुद्रा, जयमातादी गोल्ड प्यालेसका संचालक पवन कुमार अग्रवाल (धरानीया) लगायतको संलग्न रहेको स्रोतको भनाई छ ।

सुनको कारोवार गर्ने अधिकांश व्यापारीले हुण्डीको समेत काम गर्दै आएका छन् । अवैध रुपमा नेपाल भित्राइएका काँचो सुन र तयारी गहनाको रकम हुण्डी मार्फत भुक्तानी हुने गर्दछ । भारतबाट सुन र चाँदीका गहना तथा तयारी सामान नेपाल भित्रने गरेको छ ।

हुण्डी मार्फत रकम पठाउदा राज्यका निकायले फेला पार्ने र धेरै पटक हुण्डी कारोवारमा लागेका भरियाहरु पक्राउ परेपछि डायमण्ड आयातकै नाउँमा बैधानीक मार्ग भएर रकम पठाउने गरेको न्यूरोडका एक सुन व्यवसायीले बताए ।

बसन्तपुरमा जेजे ज्वेलर्सको पसल संचालन गर्दै आएका पवन कुमार सोमानीले डायमण्ड खरिद गर्दा एलसी खोलेर सामान झिकाउने गरेको बताए । एलसी खोलेपछि तोकिएको सामान नेपालमा डेलिभरी भएपछि मात्र बैंकबाट रकम भुक्तानी हुने गर्छ, सोमानीले भने । भारतमा आफन्तले खोलेको कम्पनी भएपनि सामानको मूल्य बराबरको रकम बैंक मार्फत भुक्तानी हुने गरेको उनको भनाई छ ।

यस्तो धन्दा अरु व्यापारीले गरेको हुन सक्छ, सोमानीले भने “मैले त एलसी खोलेर सामान आयात गर्ने हुँदा तयारी गहनामा कुनै रकम पठाएको छैन ।” नेपालमा आधुनिक गहना बनाउने २ वटा मेशिन आएकोले अब बाहिरबाट कसैले तयारी गहना झिकाउनु नपर्ने सोमानीको दावी छ ।

सुनचाँदी आयात र विक्री वितरणका सन्दर्भमा नेपाल राष्ट्र बैंकले जस्तो नीति बनाउछ हामीले मान्नु पर्ने हुन्छ, सोमानीले भने, “राष्ट्र बैैकले बनाएको नीतिका कारण हामीले समस्या झेल्दै आएका छौ ।” राष्ट्र बैैकको नीतिको कारण देशको राजश्वमा अर्बौ नोक्सानी हुदै आएको छ, उनले भने ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका सोमानीले सुनचाँदीको कारोवार गर्ने व्यवसायीको समस्यालाई लिएर पटक पटक राज्यका निकायको ध्यानाकर्षण गरेको बताए । राज्यको गलत नीतिको कारण व्यवसायीले चोरी गरेको सामान बेच्न बाध्य हुनपरेको छ, उपाध्यक्ष सोमानीले भने ।

सुनचाँदीको आयात र विक्री वितरण सम्वन्धि नीति नेपाल राष्ट्र बैंकले बनाउने भएकोले अहिले देखिएको बेथितिको जिम्मेवारी समेत राष्ट्र बैैकका गभर्नर महाप्रसाद अधिकारीले लिनुपर्ने उपाध्यक्ष पवन कुमार सोमानीको भनाई छ । कुनै व्यापारीलाई फाइदा पुग्ने गरी राष्ट्र बैैकले नीति बनाउने गरेको हुन सक्ने सोमानीको दावी छ ।

बहुमूल्य डायमण्ड आयात खुल्ला गरेर सुनचाँदी आयातमा निजी क्षेत्रलाई प्रतिवन्ध लगाएको नेपाल राष्ट्र बैंकको नीतिगत चलखेलका कारण राज्यलाई अर्बौ रुपियाँ नोक्सानी हुदै आएको व्यवसायीको भनाई छ । नीतिगत भ्रष्ट्रामा नेपाल राष्ट्र बैंकका उच्च तहका पदाधिकारी जिम्मेवार रहेको ती व्यवसायीले बताए ।

यस्तो छ डायमण्ड आयातको चित्र

भंसार विभागले दिएको जानकारी अनुसार गत आर्थिक बर्षमा ६३ हजार ५२५ क्यारेट डायमण्ड आयात भएको देखिन्छ । उक्त परिमाणको आयातबाट २ करोड ९२ लाख ६७ हजार भंसार राजश्व संकलन भएको छ ।

विगत ५ बर्षमा नेपालमा बैधानीक मार्ग भएर झण्डै २ लाख ७१ हजार ५५५ क्यारेट डायमण्ड आयात भएको छ । डायमण्डमा भंसार महशुल १ प्रतिशत मात्र लाग्ने भएकोले नेपालमा डायमण्डको आयात बढेको देखिन्छ । तीन बर्ष अघि आर्थिक बर्ष २०७७/०७८ मा ३३ हजार १११ क्यारेट मात्र डायमण्ड आयात भएको थियो । तीन बर्षको तुलनामा अहिले झण्डै शतप्रतिशतले डायमण्डको आयात बढेको देखिन्छ ।

नेपाली बजारमा डायमण्डको खासै कारोवार नहुने गरेको व्यवसायी पवन धरनीयाले बताए । कारोवार नभएपनि ठूलो परिमाणमा डायमण्ड आयात भएको देखिएको छ । नेपाली पैसा भारत तर्फ पठाउने बैधानीक माध्यमको रुपमा मात्र डायमण्ड आयातलाई प्रयोग गरिएको एक व्यवसायीले बताए ।


सम्बन्धित समाचार