Logo

२४ वैशाख,बर्दघाट । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ। भारतले केन्द्रमा पानी आउने नहर नै बन्द गरिदिएपछि विद्युत उत्पादन ठप्प भएको हो।

प्रतापपुर गाउँपालिका–७ गुठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रको उत्पादन करिब २ महिनादेखि बन्द रहेको जलविद्युत् केन्द्रका प्रमुख पीताम्बर भुसालले बताएका छन्। जलविद्युत् केन्द्रको नहर बन्द (क्यानल सटडाउन) भएपछि विद्युत् उत्पादन रोकिएको उनले बताए। गत चैत १३ गते नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको उनले बताए।

नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो। करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युतमा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ।

जसअनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहर मर्मत भइरहेको भन्दै नहरमा पानी बन्द गरेको हो। त्यसैले विद्युत् उत्पादन बन्द भएको प्रमुख भुसालले बताए। यस विषयमा आधिकारिक कुनै पत्र प्राप्त नभएको र नेपालमा मर्मत पनि नभएको उनले जानकारी दिए। हरेक वर्ष भारतीय पक्षले कात्तिक–मंसिर र चैत–वैशाख गरी दुईपटक नहरको पानी बन्द गर्ने गर्छ।

१५ मेगावाट विद्युत् उत्पदान क्षमता भएको उक्त जलविद्युत् केन्द्रले बन्द हुनुअघि ५ देखि साढे ५ मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको थियो। तर विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएपछि दैनिक औसतमा ७ देखि ८ लाख रुपैयाँसम्म घाटा रहेको जलविद्युत् केन्द्रका प्रमुख भुसालले बताए।

३ वटा टर्बाइन भएको जलविद्युत् केन्द्रमा २ टर्वाइनले मात्र विद्युत् उत्पादन गरिरहेको छ भने एउटा टर्बाइन बिग्रेर थन्किएका छन्। यसैगरी गण्डक जलविद्युत् केन्द्रमा रहेका उपकरण पनि प्रतिस्थापन गरी सुधार गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए।


सम्बन्धित समाचार