Logo

१३ बैशाख, वीरगञ्ज । भ्रष्टाचारको आरोप लगेका मालपोत कार्यालय पर्साका एक जना नायब सुव्बा छानवीनका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभागमा तानिएका छन् ।

रेसखवर डटकमले मालपोत कार्यालय पर्साका नायव सुब्बा राजेश्वर प्रसाद साहतेलीले गरेको भ्रष्टाचारका बारेमा विहिवार समाचार प्रकाशन गरेको थियो । रेसखवरमा समाचार प्रकाशन भएपछि उनलाई विभागले छानवीनका लागि विभागमा काज सरुवा गरेको स्रोतको भनाई छ ।

मालपोत कार्यालयमा रहेका स्रेस्ता र मोठको रेकर्ड नष्ट गरी सरकारी, सार्वजनिक र एक व्यक्तिको सम्पत्ति अर्को व्यक्तिको नाउँमा रजिष्ट्रेशन पास गरेको आरोप लागेका नायव सुब्बा राजेश्वर प्रसाद साहतेलीलाई विभागमा काज सरुवा गरिएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले विहिबार तेलीको नाउँमा पत्र पठाई विभागमा तत्काल हाजीर हुन भनेको छ । विगत ७ बर्ष देखि मालपोत कार्यालयको मुद्दा र प्रशासन फाँटको जिम्मेवारी सम्हाल्दै आएका तेलीले जनताको सम्पत्ति सुरक्षा नगरेको स्थानीयवासीले आरोप लगाएका छन् ।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. २ का दिलशेर मियाँ धोवीको २८ कठ्ठा जग्गा अर्कैै व्यक्तिको नाउँमा रजिष्ट्रेशन पास गरेका थिए । उनले वीरगञ्ज महानगरपालिका वडा नं. ३२ मा रहेको सरकारी सार्वजनीक जग्गा समेत चौधरी ग्रुपको नाउँमा पास गर्न भूमिका खेलेको आरोप उनीमाथि लागेको छ ।

नायव सुब्बा राजेश्वर प्रसाद साहले विभागका महानिर्देशक र मन्त्रालयका सचिवलाई आफूले प्रभावमा पारेकोले आफूलाई कसैले केही गर्न नसक्ने बताएका थिए ।


सम्बन्धित समाचार