Logo

२ जेठ, काठमाडौं । बारा प्रहरीले यही बैशाख महिनाको आफ्नो प्रगती विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको महिना दिनको प्रगती विवरणमा भन्सार छलीको क्रम बढ्दो रहेको देखिएको छ ।

नयाँ साल सुरवातीसंगै बैशाख महिनामा मात्र प्रहरीले ६ करोड भन्दा बढीको भन्सार छलीको सामान बरामद गरेको विवरण सार्वजनिक गरेको हो ।बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले चालू आर्थिक वर्षको वैशाख महिनाको प्रगती विवरण सार्वजनिक गर्दै एक महिनामा मात्रै ६ करोड छपन्न हजार मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको उल्लेख गरेका छन् ।

प्रहरीद्वारा जारी विज्ञप्तिमा बैशाख महिनामा बाराका विभिन्न ठाउँबाट बरामद भन्सार छलीका सामानहरु आवश्यक कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालय, पथलैया राजश्व अनुसन्धान कार्यालय पठाइएको लेखिएको छ ।
विज्ञप्तिमा प्रहरीले भन्सार छलीका किराना सामान ५ लाख मूल्य बराबरको बरामद भएको उल्लेख गरेको छ भने २ मूल्य बराबरको सवारीसाधनलाई कारबाहीका लागि पठाइएको जानकारी दिएको छ ।

सबै भन्दा बढी करिब ६ करोड मूल्य बराबरको अन्य माल सामान बरामद भएको बारा प्रहरीले जनाएको छ ।प्रहरीले जारी गरेको यी तथ्यांकले नै बारामा भन्सार छलीका सामान ओसारपसार व्यापक भइरहेको पुष्टि गर्न मद्दत गरिरहेको छ ।

तर प्रहरीले भने तस्करी नभएको दाबी गरेको छ । बारा प्रहरीले जिल्लामा प्रहरी सक्रियता बढेपछि भन्सार छलीका सामानहरु बरामद भइरहेका छन् । प्रहरी प्रवक्ता दधिराम न्यौपानेले भने, ‘प्रहरी सक्रियता बढेको छ, त्यही भएर तस्करीका सामानहरु बरामद भइरहेका छन् । तर यसको अर्थ यो होइन कि व्यापक तस्करी भइरहेका छन् । यो त कदापि होइन ।’

सीमा एरियामा रहेका यूनिटहरु कडाइँ गर्न निर्देशन दिएपछि बढी परिमाणमा भन्सार छलीका सामानहरु बरामद भइरहेको उनको दाबी छ । आक्रमक हिसाबले प्रहरी लागेको कारणले मुख्यतः भन्सार छलीका सामानहरु बरामद भइरहेको बारा प्रहरी प्रवक्ता न्यौपाने बताउँछन् ।


सम्बन्धित समाचार