Logo

२ जेठ,वीरगञ्ज । नेपाल वीमा प्राधिकरणले मधेस प्रदेशमा वीमाको पहुँच बढाउन स्थानीय तहसँग समन्वय गर्ने बताएको छ । नेपाल वीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सवको अवसरमा वीमा प्राधिकरण मधेस प्रदेशले वीरगन्जमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा प्राधिकरण मधेस प्रदेश प्रमुख कुसुम शर्माले आक्रामक वीमा बजार विस्तारको लागि स्थानीय तहसँगको समन्वय आवश्यक रहेको बताइन् ।

वीमा साक्षरताका लागि सञ्चार माध्यमहरुको महत्वपूर्ण भूमिका रहने भएकोले सञ्चार माध्यमहरुसँग पनि हातेमालो गरेर अगाडि जान प्राधिकरण तयार रहेको जानकारी उनले दिइन् । प्राधिकरणकी मधेस प्रदेश प्रमुख कुसुम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सरकार, वीमा कम्पनी र प्राधिकरणको आपसी विवादले विमितहरु मार परिरहेकोले यसले पनि वीमा बजार फस्टाउन नसकेको सहभागीहरुले बताएका छन् ।

सरकारले वीमा कम्पनीहरुले गरेको कृषि वीमाको भुक्तानी नदिँदा अहिले कृषि वीमा रोकिएको र कृषि वीमा गरेका किसानहरुले पनि अझै दावी भुक्तानी नपाएको अवस्था रहेकोले सरकार र वीमा कम्पनीबीचको विवादका किसान चेपुवा पर्न नहुने धारणा राखेका थिए । वीमा कम्पनीका प्रतिनिधिहरुले वीमामा देखिएको विभिन्न समस्याहरु समाधानका लागि वीमा प्राधिकरण मधेस प्रदेशले खेलेको भूमिका सराहनीय रहेको बताउदै वीमा बजार विस्तारका लागि प्राधिकरणको भूमिका सकारात्मक रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल वीमा व्यावसायी समाज (निप्स) निर्जिवन वीमातर्फको वीरगन्ज च्याप्टरका अध्यक्ष धिरज शर्मा, बरिष्ठ उपाध्यक्ष शशि विचित्र, उपाध्यक्ष निशान्त लामिछाने, निप्स जीवन वीमातर्फका अध्यक्ष प्रमोद साह, नारायणी एफ.एमका स्टेशन मेनेजर नीरज पिठाकोटे, राष्ट्रिय समाचार समिति वीरगन्जका प्रमुख हिमाल लम्साल, नेपाल सर्भेयर एशोसिएसन (निसा) का मधेस प्रदेश अध्यक्ष सुनिल जोशी लगायतले पनि विमा बजारको विषयमा आफ्नो मन्तव्य राखेका थिए ।


सम्बन्धित समाचार