Logo

३ जेठ,वीरगञ्ज । भारतले गैरबासमती चामल निर्यातमा रोक लगाएसँगै नेपालमा खाद्यान्नको आयात घटेको भए पनि अझै पनि ठूलै परिमाणमा खाद्यान्न आयात भइरहेको छ । देशकै मुख्य भन्सार नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०८०/८१ को ९ महीनामा २० अर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न आयात भएको छ ।

चालू आवको साउनदेखि चैतसम्ममा यो नाकाबाट मात्रै २० अर्ब २८ करोड रुपैयाँभन्दा बढी मूल्यको खाद्यान्न आयात भएको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । अन्य नाकाहरूबाट भएको आयातसमेत गर्दा ३७ अर्ब रुपैयाँ बराबरको खाद्यान्न चैत्त मसान्तसम्ममा आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्षको प्रथम ९ महीनामा ४३ अर्ब ५३ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको थियो भने गत आर्थिक वर्षभरि ५६ अर्ब ६२ करोड रुपैयाँ बराबरको खाद्यान्न भित्रिएको भन्सार विभागले बताएको छ । पाखो बारीमा फल्न सक्ने कोदो र फापरसमेत सो अवधिमा ६ हजार ८९८ टन आएको छ । यस्तो आयातमा १ अर्ब ३८ करोड रुपैयाँ बाहिरिएको भन्सार कार्यालयले उल्लेख गरेको छ ।

गतवर्षको असार महीनामा बासमतीबाहेकको चामल निर्यातमा भारतले रोक लगाएपछि खाद्यान्न आयात घट्न थालेको हो । नेपालले यो आर्थिक वर्षमा हालसम्मकै उच्च ५७ लाख २० हजार टन धान उत्पादन गरेको अनुमान गरिए पनि ठूलो परिमाणमा खाद्यान्न आयात गर्दै आएको छ ।

कुन खाद्यन्न कति आयात ?

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको प्रथम ९ महीनामा सबैभन्दा धेरै धान आयात भएको छ । स्वदेशका चामल उद्योग भारतीय धानको भरमा चलेका छन् । वीरगञ्ज नाका भएर ९ महीनामा ६ अर्ब ९३ करोड रुपैयाँको १ लाख ७९ हजार ३७० टन धान भित्रिएको तथ्यांक भन्सार कार्यालयको छ । यो अवधिमा १ अर्ब ३८ करोड रुपैयाँको चामल आयात भएको देखिन्छ ।

भारतले खाद्यान्न निकासीमा नीतिगत रूपमै नियन्त्रण अपनाए पनि नेपालमा उल्लेख्य परिमाणमा आयात भइरहेको तथ्यांकले देखाएको छ । आन्तरिक आपूर्ति व्यवस्थित बनाएर मूल्य नियन्त्रणका लागि भारतले धान, चामल, गहुँ, चिनीजस्ता खाद्यान्नको निकासीमा नियन्त्रणको नीति अपनाउँदै आएको छ ।

यो अवधिमा करीब ७ अर्ब रुपैयाँको मकै आयात भएको भन्सारले बताएको छ । पशुपन्छीका लागि दाना बनाउने उद्योगहरूले मकै भित्त्याउँछन् । मकै यी उद्योगको प्राथमिक कच्चापदार्थ हो । ९ महीना अवधिमा ३ अर्ब ६६ करोड रुपैयाँको गहुँ आयात भएको छ ।

भारतले गतवर्ष गहुँ निर्यातमा प्रतिबन्ध लगाएर नेपालका लागि कोटा तोकिदिएको थियो । सरकारको प्रक्रियागत ढिलासुस्तीका कारण त्यस बेला आयात हुन नसकेकोमा चालू आवको ९ महीनामा उल्लेख्य परिमाणमा गहुँ आएको भन्सार कार्यालयले बताएको छ ।

सो अवधिमा २१ हजार टन गहुँ भित्रिएको भन्सारको तथ्यांक छ । पाखो बारीमा फल्न सक्ने कोदो र फापरसमेत सो अवधिमा ६ हजार ८९८ टन आएको छ । यस्तो आयातमा १ अर्ब ३८ करोड रुपैयाँ बाहिरिएको भन्सार कार्यालयले उल्लेख गरेको छ ।


सम्बन्धित समाचार