Logo

३ जेठ,काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ ।

सभामुख देवराज घिमिरेले कांग्रेससँग गरिरहेको सहमतिको प्रयास असफल भएसँगै बैठकको समय धकेलिएको हो । यसअघि प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि निर्धारण गरिएको थियो ।

सभामुखको सचिवालयका अनुसार सहमति जुट्ने सम्भावना नदेखिएपछि बैठक अपरान्हसम्मलाई सारिएको हो । यसअघि सभामुख घिमिरेले संसद्को अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग टेलिफोनमा कुराकानी गरेका थिए ।

उक्त कुराकानीका क्रममा प्रधानमन्त्रीले कांग्रेससँग सहमति प्रयास भइरहेको बताएका थिए । तर प्रधानमन्त्रीले भने जस्तो सहमति हुन सकेन। कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति बने मात्रै संसद् अघि बढ्न सक्ने अडान लिएको छ ।

कांग्रेसको अडानका कारण जेठ १ मा राष्ट्रपतिले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रम पनि संसद्मा टेबल हुन सकेको छैन । अर्कातिर जेठ १५ मा बजेट ल्याउने तयारी भइरहँदा संसद् खुल्ने सम्भावना पनि देखिएको छैन ।


सम्बन्धित समाचार