५ जेठ,सेढवा । पर्साको ग्रामीण किसानहरुले उत्पादन गरेका सुर्तीको चलान शुरु भएको छ । गत कात्तिक महिनामा लगाइएका बर्ली र एच डी जातका सुर्तीबालीको चलान सुरु भएको हो ।
उत्पादित सुर्तीका पात सुकाइ प्याकिङ गरेर सूर्य नेपाल प्राइभेट लिमिटेड सिमरामा चलान भइरहेको किसानले जनाएका छन् ।
चलान भएको मितिदेखि १५ दिनदेखि एक महिना सम्म सूर्य नेपालले भुक्तानी दिने गर्दछ । सो रकम धान रोपाईको समयभन्दा अगाडी पाउने भएकोले सहज हुने जीराभवानी गाउँपालिका वडा नम्बर २ सेढवाका किसान जगदिश चौधरीले जनाए ।
रोपाईका समयमा पैसा पाउँदा बिउबिजन, रासायनिक मल, किटनाशक औषधी, खनजोत तथा सिँचाई गर्न मद्दत मिल्ने उनको भनाइ छ ।
पात टिप्न सुरु
दोस्रो बालीको रुपमा लगाइएको सुर्तीको पात टिप्न पनि किसानले सुरुवात गरेका छन् । जिल्लाको ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, पर्सागढी र वीरगंज महानगरपालिकाका केही वडाहरुमा यो नगदेबालीका रुपमा लगाइन्छ ।
गाजा खेती गर्न प्रशासनले रोक लगाएपछि किसानहरुका लागि सुर्तीबाली राम्रो नगदे बालीका रुपमा साबित हुदै गएको छ । बाली राम्रो उत्पादन भएमा प्रतिकट्ठा १५ देखि २० हजार रुपैया आम्दानी गर्न सकिने ठोरी गाउँपालिका वडा नं.५ का किसान सुनबहादुर श्रेष्ठले बताए । जुन रकम अन्य बालीको तुलनामा दोब्बरले बढी हो ।
सूर्य नेपालले उपलब्ध गराएका तथ्याङ्कका अनुसार पर्सा जिल्लामा एक हजार हेक्टर जमिनमा यो बाली लगाइएको छ । जसमा एच डी र बर्ली जातका सुर्ती रहेका छन् ।
नेपालमा तराईको नवलपरासीदेखि सिरहा जिल्ला सम्म सुर्ती उत्पादन गर्दै आए पनि सबैभन्दा बढि पर्सा जिल्लाबाट सुर्तीको आपूर्ति हुने सूर्य नेपालले जनाएको छ ।