Logo

११ जेठ, वीरगञ्ज । पर्सा प्रहरीले फर्जी विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्जबाट दुईजनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आर्दशनगरबाट नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रहरी नायब उपरिक्षक डिएसपी केशर कुमार न्यौपानेले पुष्टि गरे ।

वीरगञ्ज– १० आदर्शनगर बस्ने ‘अमन जलान’ भन्ने अमन चौधरी र उनकी आमा अन्जु चौधरीलाई पक्राउ गरेको डिएसपी न्यौपानेले जानकारी दिए ।
उनीहरु नातामा आमाछोरा पर्ने प्रहरीले जनायो ।

गएको ०८० साउन २३ मा बसेको मन्त्रीपरिषद् बैठकको निर्णयले दुईजना आमाछोराले फर्जी विवरणको आधारमा नागरिकता लिएको भन्दै रद्द गरी कारवाही गर्न आदेश दिएको थियो । सोही निर्णयानुसार उनीहरुलाई पक्राउ गरिएको डिएसपी न्यौपाने बताउँछन् ।

२५ कार्तिक २०७७ मा अमनले वंशजको आधारको नेपाली नागरिकता लिएका प्रशासनको रेकर्डमा उल्लेख छ । गत सालको असोजमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएदेखि फरार रहेका उनीहरु आमाछोरालाई आज बिहान पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

नागरिकता सम्बन्धी कसूरमा पक्राउ परेका आमाछोरामाथि कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।


सम्बन्धित समाचार