Logo

१२ जेठ, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन एकतर्फी भएको बताएका छन् ।

उनले सरकारले ल्याएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन २०६६ दोश्रो संसोधन २०७९ ले स्वास्थ्यकर्मीहरुको मात्रै सुरक्षाको विषयमा बोलेको र उनीहरुले गर्ने लापरवाही गरेमा कारवाही गर्ने विषयमा भने केही उल्लेख नगरिएको बताएका हुन् ।

नेपाल चिकित्सक संघले वीरगन्जमा आज आयोजना गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ तथा दोश्रो संसोधन २०७९ को प्रचार प्रसार तथा अन्तरकृया कार्यक्रममा मेयर सिंहले यस्तो बताएका हुन् ।

डाक्टरहरु सरकारी स्वास्थ्य संस्थाहरुप्रति जिम्मेवार र उत्तरदायी नहुँदा सरकारी स्वास्थ्य सेवा विश्वसनीय हुन नसकेको उनको भनाइ छ ।

वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले स्वास्थ्यकर्मीहरुको पेशागत सुरक्षा उनीहरुले दिने सेवामा निर्भर हुने बताउनुभयो । कार्यक्रममा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन नभएको सरोकारवालाहरुले गुनासो गरेका छन् ।

उपचारका क्रममा लापरवाही गरेको आरोपमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुमाथि आक्रमण बढिरहेको भन्दै दोषीलाई कारवाही गर्ने विषयमा ऐन पनि प्रभावकारी नभएको उनीहरुले गुनासो गरेका हुन् ।

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश संयोजक डाक्टर निरज सिंहले सेवाग्राहीले कुरा नबुझ्दा चारदिनमै चिकित्सकहरुलाई भगवान बनाउदै डाका र ज्यानमारा समेत बनाउने गरेको भन्दै यसले स्वास्थ्य सेवामा त्रास फैलाएको जनाए ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्का, पर्साका सशस्त्र प्रहरी उपरीक्षका राधेश्याम धिताल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, चिकित्सक, नागरिक समाज र सञ्चारकर्मीहहरुको समेत उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार