Logo

१४ जेठ, वीरगञ्ज । बढ्दो गर्मीबिच पर्साका ग्रामीण किसान धानको रोपाईको पूर्व तयारीमा जुटेका छन् । गँहुबाली पछि अर्को बालीका लागि खेतलाई खनजोत तथा आली निर्माणमा अहिले किसानलाई भ्याईनभ्याई भएको छ ।

गँहुको ठुटा तथा खेतमा उम्रेका विभिन्न जातका अनावश्यक झारपात हटाउन किसान व्यस्त छन् । ज्येष्ठ महिनाको टड्कारो घाममा खेतको जोताई गर्दा झारपात सुकेर नष्ट भई कम्पोष्ट मलमा परिवर्तन हुदाँ बालीमा फाइदा पुग्ने जगरनाथपुर गाउँपालिका वडा नं ३ का महेन्द्र रामल बताउँछन् ।

खेतको झारपात नष्ट गर्न नपाए रोपाईपछि गोडमेल गर्न निकै समस्या हुने उनको भनाइ छ । यस्तै आलीमा उम्रेका घासलाई सरसफाई गरी पुनः आली बनाउने गरिन्छ । अहिले सिचाँई साधन अन्तर्गतका कुलोहरुको सरसफाई तथा पानीका मुहान संरक्षणका लागि सामूहिक रुपमा किसान जुटेका छन् ।

चर्को घाम लाग्ने समयमा खेत खनजोत गर्दा जमिनमा लुकेका विभिन्न प्रजातीका किटाणु मर्नुको साथै तिनीहरूको अण्डा, लार्भा तथा बासस्थान नष्ट हुने जिराभवानी गाउँपालिकाका कृषि शाखाका प्राबिधिक क्षत्रबहादुर साहले बताए ।
अहिले खेत जोताई नगरे पछि बालीमा विभिन्न रोगका प्रकोपहरु देखा पर्ने उनले जनाए । यसका साथै अहिले किसानहरु जनिमका तलमाथि रहेको भूभागलाई सम्याउने काम समेत गरिरहेका छन् ।


सम्बन्धित समाचार