Logo

१८ जेठ, वीरगञ्ज । मधेस आन्दोलनका क्रममा भत्काइएको सालिक भएकै ठाउँमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सालिक पुर्नस्थापना गरिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ इदगाहचोकमा पूर्वप्रधानमन्त्री कोइरालाको पूर्णकदको सालिक पुर्नस्थापना गरिएको हो ।

नेपाली कांग्रेस क्षेत्र नं २ पर्साका सभापति तथा जिपी कोइराला फाउण्डेशनका मधेस प्रदेश अध्यक्ष महम्मद सहावुद्दिनले मधेस आन्दोलनका क्रममा भत्काइएको सालिक भएकै ठाउँमा स्वर्गीय कोइरालाको नयाँ सालिक निर्माण गरेर पुनःस्थापना गरिएको बताए ।

मधेस आन्दोलनको क्रममा गिरिजाबाबुको सालिक भत्काए पनि उनको विचार र आदर्शलाई भत्काउन नसक्ने अध्यक्ष सहावुद्दिनको धारणा छ । मधेस, पहाड र हिमालका जनताले पूर्वप्रधानमन्त्री समेत रहेका कोइरालाले देशमा लोकतन्त्र स्थापनाका निम्ति गरेका योगदान नेपालीले नबिर्सिने विश्वास उनले व्यक्त गरे ।

प्रदेश सरकारले उपलब्ध गराएको १६ लाख रुपैँयाको बजेटमा कोइरालाको सालिकसहित अन्य संरचना तयार पारेको अध्यक्ष सहावुद्दिनले जानकारी दिए । स्वर्गीय कोइरालाको १०१ औँ जन्मजयन्तीको अवसरमा सालिक अनावरण गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । उनका अनुसार सालिक निर्माण ११ लाख र अन्य पूर्वाधार निर्माणमा पाँच लाख गरी जम्मा १६ लाख खर्च भएको हो ।

यहि असार १८ गते पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका नेता शेखर कोइरालालगायत नेताको उपस्थितिमा सालिक अनावरण गरिने उनी बताउँछन् ।


सम्बन्धित समाचार