
२४ जेठ, वीरगञ्ज । बुधबार राति आएको हावाहुरीले वीरगन्जका दुईजना घाईते भएका छन् ।
राति करिब एक बजे तिर तेजगतिमा आएको हावाहुरीका कारण ठाँउ ठाँउमा विद्युतको पोल भाँचिएको छ । भने कतिपयको घरको छानो उडाएर क्षति भएको छ ।
जस्तापाताले छाएको घरको छानो खस्दा वीरगञ्जका २ जना घाईते भएको प्रहरीले जनाएको छ ।
हावाहुरीले जस्ताले छाएको छानो खसेपछि वीरगन्ज १५ लक्ष्मणवाका विष्णुदेव यादवका ६ वर्षिय छोरा नितिश यादव र वडा नम्बर २२ का ३० वर्षिय शेखर माझी गम्भिर घाईते भएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए ।
दुवै घाईतेलाई वीरगन्जको नारायणी अस्पतालमा लैजाँदा उपचार सम्भव नभएपछि रेफर गरिएको डिएसपी भारतीले बताए ।
घाईते यादव र माझीलाई नारायणी अस्पतालले रेफर गरेपछि माझिको उपचार नेशनल मेडिकल कलेज र ६ वर्षिय बालकको उपचार एल.एस. न्यूरोमा भइरहेको जानकारी डिएसपी भारतीले दिए ।
बुवा विष्णुका अनुसार राति सुतिरहेको समयमा हावाहुरीले घरको छाना खसेर टाउकोमा लाग्दा छोरा गम्भीर घाइते भएका छन् ।
यसैविच हावाहुरीले वीरगञ्ज नगर क्षेत्रमा ट्रान्फर्मर सहितको विद्युतिय पोल ढलेको हुँदा आज विहीबार दिनभर विद्युत सेवा अवरुद्ध छ । विद्युत सेवा अवरुद्ध हुँदा वीरगञ्जका सरकारी तथा गैरसरकारी संघसस्थाका कामकाज समेत ठप्प रह्यो ।
विद्यूत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेका अनुसार, रातिको आँधीहुरीले वीरगञ्ज महानगरका विभिन्न स्थानमा गरी करिब २५ वटा विद्युतको पोल भाँचिएर ढलेका छन् भने लालपर्सा र रतनपुरमा ट्रान्फर्मर नै पोलबाट खसेर क्षतिभएको छ ।
वीरगन्ज ३० लालपर्सामा मात्रै १० वटा पोलभाँचिएर ढलेको उनले बताए । यस्तै वीरगञ्जको पावरहाउस चोकमापनि ५ वटा पोल लडेको जानकारी उनले दिए ।
जसका कारण वीरगञ्ज महानगर क्षेत्रमा राति करिब १ बजेदेखि नै विद्युत सेवा अवरुद्ध भएको हो ।
ठाँउ ठाँउमा ढलेकापोल, तार र ट्रान्सफर्मर मर्मतको काम बिहानैदेखि सुरु गरिएको र अहिले पनि प्राविधिकहरु त्यसमै लागि रहेको दुबेले बताए ।
मर्मत कार्य गरी केही ठाउँका विद्युत सेवा सुचारु गरिएको छ भने कतिपय ठाउँमा राति सम्म नै प्राविधिकहरु खटेर मर्मतमा जुटेका छन् ।
मर्मत कार्य भएर वीरगञ्जको लक्ष्मणवा, नगवा लगायतका ठाउँमा विद्युत सेवा सुचारु भएको दुवेले जानकारी दिए ।
वीरगञ्जको विभिन्न ठाउँमा आज विहान देखिको विद्युत सेवा अवरुद्ध हुँदा सबै सरकारी तथा गैरसरकारी संघसंस्थका कामकाज आज दिनभर ठप्प रह्यो । लाईन नभएर वीरगञ्जका प्राय सञ्चार सेवा आज बन्द रह्यो । वीरगञ्जबाट संचालनामा रहेका रेडियो, टेलिभिजन लगायतका सञ्चार सेवा बन्द रह्यो ।
वीरगञ्जका केही ठाउँमा बत्ति आएपनि धेरै ठाउँमा मर्मत कार्य नसकेको कारण सेवा अवरुद्ध नै रहेको विद्युत प्राधिकरण वीरगञ्जका प्रमुख दुवेले बताए ।
विद्युत सेवा अवरुद्ध हुँदा तथ्यांक संकलनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दिपक भारतीले बताए । उनले लाईन नभएर क्षतिको विवरण तयार गर्न समस्या भएको बताए ।
क्षतिको विवरण संकलन कार्य भईरहेको कारण के कतिको क्षति भएको छ भन्ने जानकारी लाईन आएपछि डाटा तयार गरेर मात्र भन्न सकिने डिएसपी भारतीले बताए ।
प्राप्त जानकारी अनुसार बुधबार राति आएको भिषण हावाहुरिका कारण वीरगञ्ज ठाकुरराम बहुमुखी क्याम्पस शिक्षा शास्त्र संकाय तर्फ रहेको छात्रावासको पर्खाल भत्केको छ भने दर्जनौ रुख ढलेका छन् ।
यस्तै पर्साको पर्सागढि नगरपालिका लगायत ग्रामीण भेगमा निजि तथा सार्वजनिक सम्पतिको ठुलो क्ष्ति पुगेको छ ।
हावाहुरीको कारणले गर्दा बिशेष गरि खर र टायलको छानो भएको सयौं घरमा ठुलो क्षति पुगेको हाम्रा सहकर्मी बलिराम शुक्लाले जानकारी दिए । दर्जनौ विधुतिय पोलहरु भाँचिएर ढलेको छ । जसका कारण पर्सागढि नगरपालिका क्षेत्रमा बुधबार राति देखि नै विद्युत आपुर्ति अवरुद्ध छ ।
जितपुर – रङ्गपुर जनता सडकको सथवल गाउँ नजिक दुई वटा बिधुतिय पोल ढलेको कारण आज दिन भर जसो सो सडक भएर चल्ने ठुला सवारी साधन चल्न सकेनन् ।
त्यसैगरि मनवा देखि तेलिया एकटाङ्गा हुँदै श्रीपुर बजार जाने सडक खण्डमा पनि आधा दर्जन भन्दा बढि विधुतिय पोल र रुखहरु ढलेको हुँदा सो भेग भएर चल्ने सवारी साधन समेत रह्यो ।
हावाहुरीका कारण वीरगञ्जबाट संचालनमा रहेको माई टिभीको सेटेलाईट उपकरणमा समेत क्षति पुगेको छ । सान्भी एफएमको टावर टावर ढलेको छ ।
यस्तै बुधबार राति आएको विनाशकारी हावाहुरी सहितको वर्षाका कारण पर्साको पर्सागढी नगरपालिका– ९ मा रहेको शिवम ह्याचरीमा रहेका ३५ हजार प्यारेन्ट (माउ) कुखुरा मरेका छन् ।
ह्याचरीका प्रबन्ध निर्देशक रिजवान अहमदका अनुसार हावाहुरीले फार्मका आठवटा खोर पूरै भत्किएका छन् । खोरमा भण्डारण गरिएका कुखुराको चारो पानीले भिजेर नष्ट भएको छ ।
हावाहुरीले टिनको छाना भत्कएपछि त्यसमा किचिएर उक्त प्यारेन्ट कुखुराहरु मरेका हुन् ।
हावाहुरीले कुखुरा मर्नुका साथै ग्यारेज, खोर, बिद्युत तथा सिसि क्यामेरा र होर्डिङ बोर्डमा समेत क्षति पुगेको उनले बताए ।