Logo

२५ जेठ, वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले १ सय ३६ वटै स्थानीय तहमा बाँझो जग्गा उपयोग गरी नमुना कृषि विकास मोडल लागू गरी एक पालिका एक कृषि उत्कृष्टता केन्द्र स्थापना गर्ने निर्णय गरेका छन् ।

शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री सिंहले मधेश प्रदेशको हरेक स्थानीय तहमा नमुना रूपमा एकरएक खुला शैक्षिक पार्क बनाउने, मधेश आन्दोलनका शहीद, घाइते परिवारलाई सम्बोधन हुने कार्यक्रम, संघीयताका प्रणेता स्वर्गीय गजेन्द्रनारायण सिंह र प्रथम गणतन्त्रवादी नेता स्व। रामराजाप्रसाद सिंहको सम्मानमा विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् ।

प्रदेशको तथ्यांक भरपर्दा र विश्वसनीय बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने, वैदेशिक रोजगारबाट सीप सिकेर फर्केका जनशक्तिको पहिचान गरी श्रम बैंकको रूपमा स्थापना गरी सिपलाई रोजगारीसँग जोड्ने कार्यक्रम अगाडि बढाउने निर्णय मुख्यमन्त्री सिंहले गरेका छन् ।

मधेश प्रदेशमा लगानी सम्मेलन गर्ने, मधेशमा सुशासनको जग स्थापित गर्न खोजमूलक पत्रकारिता प्रवर्द्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । मधेशको खेल क्षेत्रलाई गतिशील बनाउन प्रदेश गौरवको आयोजनाको रूपमा रंगशाला निर्माण गर्ने र खेलाडीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्ने मुख्यमन्त्री सिंहको निर्णय छ ।


सम्बन्धित समाचार