Logo

३ असार, काठमाडौं । आइसिसी टि–२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेश संग पराजित भएको छ । नेपाल बंगलादेश संग  २१ रनले पराजित भएको हो ।

बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा समेटियो । हार बेहोरेसंगै नेपाल लगातार दुई खेलमा टेस्ट राष्ट्र विरुद्ध जित हासिल गर्नबाट चुकेको छ । बंगलादेश भने सुपर एटमा प्रवेश गरेको छ ।

१५ बलमा २२ रन चाहिएको अवस्थामा लगातार ११ वटा डट बलको सामना गर्दै नेपालले हार बेहोर्न पुग्यो । नेपालले सो ११ बलमा अन्तिम चार विकेट गुमाएको थियो ।

अन्तिम तीन ओभरमा नेपाललाई जितका लागि २९ रन चाहिएकोमा नेपालले १८औं ओभरमा ७ रन ल्याउन सफल भयो । मुस्तफिजुर रहमानले १९औं ओभरमा विकेट मेडन गरे । सो ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरी ३१ बलमा २५ रन बनाएर आउट भए ।

अन्तिम ओभरको पहिलो बलमा शाकिब अल हसनले सोमपाल कामीलाई स्टम्प गराए । दोस्रो बलमा अविनाश बोहोरा पनि आउट भएपछि नेपालले हार बेहोर्न पुग्यो ।

ओपनर कुशल भुर्तेलको ब्याटिङ तर्फ खराब लय आजपनि जारी नै रह्यो । दोस्रो ओभरमा उनी तान्जिम हसन साकिबको फूल टस बलमा ४ रन बनाएर बोल्ड भए ।

अनिल साहको ब्याट आज भने चल्न सकेन । उनी तेस्रो ओभरमा शून्यमा तान्जिम कै बलमा क्याच आउट भए । कप्तान रोहित पौडेल १ रन बनाएर पाँचौं ओभरमा रिशाद होसेनद्वारा समातिए ।

केही आशालाग्दो सुरुवात पाएका आशिफ शेखलाई मुस्तफिजुर रहमानले आफ्नो शिकार बनाए । आशिफ १४ बलमा ४ चौका सहित १७ रन बनाएर शाकिबको हातबाट समातिए ।

आज टोलीमा आएका सन्दिप जोराले पनि सम्झनलायक ब्याटिङ गर्न सकेनन् । उनलाई तान्जिमले पोइन्टमा रिशादकै हातबाट क्याच आउट गराए ।

पाँचौं विकेटका लागि कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी मिलेर ५२ रनको साझेदारी गरेका थिए । २६–५ को अवस्थाबाट इनिङ उकासेका सो साझेदारी कुशल मल्ललाई आउट गर्दै मुस्तफिजुरले तोडेका थिए । कुशल मल्लले ४० बलमा १ चौका र १ छक्का प्रहार गर्दै २७ रन बनाएका थिए । तर सो विकेटपछि भने नेपालले सम्हालिन नसक्दा सबै विकेट गुमाउन पुग्यो ।

बंगलादेशका लागि तान्जिम हसन सकिबले ४ ओभरमा २ मेडन सहित ७ रन दिएर ४ विकेट लिए । मुस्तफिजुर रहमानले ४ ओभरमा १ मेडन सहित ७ रन नै दिएर ३ विकेट लिए । शाकिब अल हसनले २ विकेट लिए भने १ विकेट तास्किन अहमदको नाममा रह्यो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १ सय ६ रन बनाएपछि नेपालले सो लक्ष्य पाएको हो ।

दक्षिण अफ्रिका विरुद्ध १ रनको झिनो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ रहेको छ । र नेपालले सुरुवात देखि नै बंगलादेशलाई दबाबमा राखेको थियो ।

इनिङको पहिलो बलमा नै सोमपाल कामीले नेपालका लागि पहिलो सफलता दिलाएका थिए । तान्जिद हसनको ब्याटमा एज लागेर सोमपालले नै क्याच गरेका थिए ।

दोस्रो सफलता दीपेन्द्र सिंह ऐरीले दोस्रो ओभरमा नाजमुल होसेन शान्टोको रूपमा लिए । शान्टो ४ रन बनाएर दीपेन्द्रद्वारा बोल्ड आउट भएका थिए ।

बंगलादेशका लागि केही आशलाग्दो सुरुवाती गरेका लिटन दास पाँचौं ओभरमा पेभेलियन फर्किए । १२ बलमा १० रन बनाएर उनी सोमपालको बलमा विकेटकिपर आशिफ शेखको हातबाट क्याच आउट भए ।

अर्को ओभरमा बलिङ गर्न आएका कप्तान रोहित पौडेलले पनि नेपालमा लागि सफलता दिलाए । ठूलो शट प्रहार गर्ने क्रममा टोहिद हृदोय ९ रन बनाएर सन्दिप लामिछानेको हातबाट समातिए ।

पाँचै विकेटका लागि शाकिब अल हसन र महमदुल्लाहले साझेदारी तोडिनु अघि २२ रनको साझेदारी गरे । महमदुल्लाह नवौं ओभरको अन्तिम बलमा १३ बलमा १३ रन बनाएर रनआउट भएका थिए ।

१२औं ओभरको चौथो बलमा शाकिब पनि पेभेलियन फर्किए । २२ बलमा १७ रन बनाएका उनलाई रोहित पौडेलले लेग बिफोर विकेटमा फसाएका थिए ।

१४औं ओभरमा सन्दिपको नाममा पहिलो विकेट रह्यो । तान्जिम हसन सकिबलाई उनले सुन्दर बल गर्दै बोल्ड गराए । १५औं ओभरमा सन्दिपले व्यक्तिगत दोस्रो विकेट लिए । २६ बलमा १२ रन बनाएका जाकेर अली पनि उनको बलमा बोल्ड भए । यो विकेट सन्दिपको १००औं टि–२०आई विकेट रहेको थियो ।

नवौं सफलता दीपेन्द्रले दिलाए । केही आक्रामक रहेका रिशाद होसेन ७ बलमा १३ रन बनाएर अनिल साहद्वारा लङ–अफमा क्याच आउट भएका थिए ।

अन्तिम विकेट अन्तिम ओभरमा नै रनआउटको रूपमा खस्यो । रोहित र दीपेन्द्रको साझेदारीमा मुस्तफिजुर रहमान ३ रन बनाएर रनआउट भएका थिए । बंगलादेशका तास्किन १५ बलमा १२ रन बनाएर अविजित रहे ।

नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दिप लामिछानेले समान २–२ विकेट लिए ।

कप्तान रोहितले ४ ओभरमा २० रन खर्चिए । सन्दिपले ४ ओभरको आफ्नो कोटा पुरा गर्दै १ मेडन सहित १७ रन दिए । यस्तै कुशल भुर्तेलले भने ४ ओभरमा २२ रन दिएर कुनै विकेट लिएनन् । १९औं ओभरमा पहिलो ओभर बलिङ गरेका अविनाश बोहोराले १ ओभरमा १० रन खर्चिए ।


सम्बन्धित समाचार