Logo

४ असार,काठमाडौँ । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ । सेन्ट लुसियाको ग्रोस आइलेटस्थित ड्यारेन सामी क्रिकेट मैदानमा मंगलबार बिहान सम्पन्न खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनले पराजित गरेको हो ।

जितसँगै वेस्ट इन्डिज समूह ‘सी’ को विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको छ । अफगानिस्तान भने समूह उप–विजेताका रूपमा ‘सुपर–८’ चरणमा प्रवेश गरेको छ । योसँगै नवौँ विश्वकपमा समूह चरणको खेल पनि सकिएको छ । ‘सुपर–८’ चरणमा पुग्ने आठवटै टोलीको टुंगो लागिसकेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ रन बनाएको थियो । जारी विश्वकपमा यो सबैभन्दा ठुलो स्कोर पनि हो ।

वेस्ट इन्डिजका लागि निकोलस पूरनले ५३ बलमा ९८ रन बनाए । जोन्सन चार्ल्सले ४३ र रोभम्यान पावेलले २६ रन बनाए ।

जवाफमा अफगानिस्तान १६.२ ओभरमा ११४ रन बनाएर अलआउट भयो । अफगानिस्तानका लागि इब्राहिम जाद्रानले सर्वाधिक ३८ रन बनाए ।


सम्बन्धित समाचार