Logo

५ असार,सेढवा । पर्साका ग्रामिण भेगका किसानलाई चैते धानबाली अन्तर्गत हर्दिनाथ–१ ( १४४२) भित्र्याउन भ्याईनभ्याई भएको छ । चैत्र महिनाको पहिलो सातादेखि रोपाई गरेका यो धानबाली भित्र्याउन किसान अहिले व्यस्त छन् ।

ठोरी गाउपालिका वडा नं ५ गडुवालाइनका किसान देवी प्रसाद दाहाल धानबाली भित्र्याउन मजदुर लगाउनुको साथै कतिपय स्थानमा हार्भेस्टर मेशिनलाई प्रयोजनमा ल्याइएको बताउँछन् । मेशिन लैजान नसकिने बारीमा ज्यामी मजदुर लगाएर धानको कटानी भइरहेको उनले बताए ।

असार लागेसँगै पानी पर्ने सम्भावना बढी हुने भएकाले किसानलाई यो बाली भित्र्याउने चटारो परेको उनको भनाइ छ । यता यो बालीबाट धानको उत्पादन राम्रो भएपनि भाउ राम्रो नपाउदा किसान निराश छन् ।

बालीको उत्पादन साढे दुई क्वीन्टल देखि ३ क्वीन्टल प्रति कठाको दर भएको किसानले जनाएका छन् । तर व्यापारीहरुले २ हजार चार सय रुपैँया प्रति क्विन्टलका दरले खरिद गरेको उनीहरुको गुनासो छ । यसवर्ष धानको भाउ २ हजार ६ सय पचास रुपैँया प्रति क्वीन्टलका दरले शुरुवात भएपनि अहिले घटाइएको छ ।

गतवर्ष यसको बजार भाउ २ हजार ८ सय देखि तीन हजार दुई सय रुपैँया प्रति क्वीन्टलका दरमा खरिद बिक्री भएको किसान बताउँछन् । यद्यपी लामो समयको खडेरीले सिँचाईमा निकै खर्च गर्नुपर्दा तथा रासायनिक मल समयमा उपलब्ध नहुँदा यसवर्ष बालीमा निकै लगानी गर्नुपरेको किसानको गुनासो छ ।

 


सम्बन्धित समाचार