Logo

तस्बिर :कृष्ण आचार्य / रासस

१ साउन, वीरगञ्ज ।  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको पहिरोमा परेर शुक्रबार बिहानदेखि त्रिशूली नदीमा हराइरहेकामध्ये हालसम्म १४ जनाको शव भेटिएको छ ।

दुई बस र ५४ यात्रु अझै बेपत्ता

चितवन प्रशासनले सार्वजनिक गरेको सूचनाअनुसार दुईवटा बसमा चालकसहित ६५ जना यात्रु रहेका थिए । काठमाडौंदेखि गौर जाँदै गरेको बसमा ३८ जना र वीरगन्जदेखि काठमाडौं जाँदै गरेको बसमा २७ गरी कुल ६५ जना यात्रु रहेको जनाएको चितवन प्रशासनले छ । जसमा तीन यात्रु पौडिएर बाँच्न सफल भएका थिए ।

भेटिएको शवमध्ये ६ जनाको शवको सनाखत भई आफन्तको जिम्मा लगाइएको छ भने पाँच जनाको शव अस्पतालमा रहेको छ । बाँकी दुईको शव पहिचान खुल्न बाँकी रहेको चितवन प्रशासनले जनाएको छ । २८ असार शुक्रबार बिहान साढे ३ बजे लेदो माटोसहित बगेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परेर वीरगन्जबाट काठमाडौं जाँदै गरेको बाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको एञ्जल यातायातको बस र काठमाडौंबाट रौतटहटको सदरमुकाम गौर जाँदै गरेको बाग्मती ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीले बगाएको थियो ।

पहिरोले बगाएर त्रिशूलीमा हराएका दुई बससँगै यात्रुको खोजीमा चार दिनदेखि रहेको सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाली सेनाको टोलीले एक थान पर्दा र बच्चाको कपडा फेला पारेको छ । तीव्र बहावमा रहेको त्रिशूली नदीले बगाउँदा हराइरहेकाहरू करिब ५० किलोमिटर टाढा भेटिएको प्रशासनले जनाएको छ ।

पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएकाहरूको खोजीमा नेपालमा भएको जलउत्पन्न विपद् उद्धारको जनशक्ति र प्रविधिको उच्चतम् प्रयोग भइरहेको छ । धमिलो पानीका कारण गोताखोरले समेत सतहमा राम्रोसँग देख्न नसक्ने भएकाले सोनार क्यामेरा र वाटर ड्रोनको प्रयोग गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनको सूचनाअनुसार हराइरहेको बस ठूलो चुम्बक (म्याग्नेट)को सहायताले खोजी भइरहेको छ । त्यस्तै, नारायणी नदी तटीय क्षेत्रमा ¥याफ्टिङ बोट तथा पैदल माध्यमबाट खोजतलास गर्ने, भरतपुर महानगरपालिको सहयोग र समन्वयमा एयर ड्रोनको प्रयोग गरेर घटनास्थलदेखि गोलाघाटसम्म खोजी गर्ने प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले खोजी तथा उद्धारका लागि सबै खालका प्रयासलाई जारी राखेको जनाएको छ ।

सम्भावित सबै स्थानमा चितवन जिल्लामा रहेका सशस्त्र प्रहरी बल विपद् तालिम शिक्षालय कुरिनटार र नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौलीको संलग्नतामा फलामे हुक, गोताखोर, सोनार, ¥याफ्टिङ बोट, बाइनाकुलर, टेलिस्किोप कायकको प्रयोग भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । साथै, परिवारसँगबाट यात्रुको परिचयपत्र र फोटो संकलन गरी खोज तथा उद्धार कार्य गरिएको प्रशासनले जनाएको छ ।

यसैबीच, नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवन सिमलताल बस दुर्घटना’ अध्ययन गर्न कार्यदल गठन गरेका छन् । सोमबार गृहमन्त्रीको पदबहाल सम्हालेलगतै लेखकले सिमलताल बस दुर्घटना’ अध्ययन गर्न कार्यदल गठन गरेका हुन् । कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना छन् । कार्यदललाई १० दिन समय दिइएको छ ।

दस दिनसम्म पनि फेला नपरे व्यक्तिका परिवारलाई मृतकसरह राहत दिने 

सरकारले बाढी पहिरोमा परेर बेपत्ता भएको दस दिनसम्म पनि फेला नपरेका व्यक्तिका परिवारलाई मृतकसरह राहत दिने भएको छ । सोमबार बसेको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले बाढी पहिरोमा परी बेपत्ता भएको दस दिनसम्म पनि फेला नपरेका व्यक्तिका परिवारलाई मृतकसरह राहत दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार यसअघि मृतकले राहत पाउने व्यवस्था भएपनि बेपत्ताका परिवारले पनि कुनै पनि राहत पाउने अवस्था थिएन । बैठकले बाढी पहिरोमा परी ज्यान गुमाउने मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै, बेपत्ताको खोजी र घाइतेको उपचारकालागि समेत जोड दिने निर्णय गरेको सञ्चारमन्त्री गुरुङले बताए ।

त्यस्तै, जाजरकोट भूकम्पमा परी पीडितहरुलाई तेस्रो किस्ता वापतको रकम निकाशा गर्ने निर्णय गरेको छ । बैठकले लीलादेवी गड्तौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी तोकेको सञ्चारमन्त्री गुरुङले जानकारी दिए ।


सम्बन्धित समाचार