Logo

१६ भदौ, सिमरा । नेपालकै सर्वाधिक पुरस्कार राशिको जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबलको चौथो संस्करण बाराको सिमरामा हुने भएको छ । खेल स्वास्थ्यका लागि अपरिहार्य छ र ४० वर्ष माथिका खेलाडि खेल्न सक्छन् भने हामि पनि खेल्न सक्छौं भन्ने भावनाको विकास गर्न सिमरा भेट्रान क्लबले असोज १ गतेदेखि प्रतियोगिता आयोजना गर्न लागेको हो ।

असोज ५ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार नगद प्राप्त गर्नेछन् । विजेताले प्राप्त गर्ने उक्त प्रथम नगद पुरस्कार देशभरीमै आयोजना हुने भेट्रान फूटबल प्रतियोगिता मध्येकै सर्वाधिक रहेको आयोजकले दावी गरेका छन् ।

आयोजक क्लबका अध्यक्ष राजकपुर राउतले देशभरीकै सर्वाधिक राशिको नगद पुरस्कारसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताए । आयोजकले गत वर्षको पुरस्कार राशिमा एक लाख थप गर्दै तीन लाख पुर्याएको हो । अघिल्लो वर्ष विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गरेका थिए ।

पत्रकार सम्मेलन मार्फत सचिव हरी चौधरीले प्रतियोगितामा नेपाल र भारतका गरी १२ टिमको सहभागिता रहने जानाए ।

आयोजक क्लबका अनुसार प्रतियोगितामा युनिटी क्लब वीरगन्ज, हेटौंडा भेट्रान क्लब, चितवन भेट्रान फूटबल क्लब, सरस्वती नगर भेट्रान काठमाडौं, हाम्रो धरान फूटबल क्लब, कटारी टाईगर भेट्रान क्लब, पोखरा भेट्रान क्लब, रियल फ्रेण्ड भेट्रान सिक्किम, लेजेण्ड्स भेट्रान दार्जलिङ, क्लिभ हाउस भेट्रान कलकत्ता र आयोजकको सहभागिता रहनेछ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना हुने प्रतियोगितालाई हुलास स्टील्स्ले मुख्य प्रायोजन गर्ने भएको छ । आयोजकका अनुसार सहप्रायोजकमा जगदम्बा स्टील्स् नेपाल ल्यूब आयल, नविल बैंक सिमरा, प्रभु बैंक सिमरा, युआर गोल्ड प्रिमियम मसला रहेका छन् । प्रतियोगितालाई जीतपुरसिमराका सबै वडा र क्वेस्ट फर्मास्युटिकल्सले सहयोग गर्नेछ ।

प्रतियोगिता मूल समारोह समितिका मुख्य सल्लाहकार विनोद परियारका अनुसार सहभागि क्लबले अनिवार्य ४० वर्षका ४ जना, ४५ वर्षका ५ जना र ५० वर्षका २ जना खेलाडि सहभागि गराउनु पर्नेछ ।


सम्बन्धित समाचार