Logo

१८ भदौ, पर्सागढी । पर्सागढी नगरपालिका वडा नं.७ रघुनाथपुर खेल मैदानमा भएको प्रथम मुखिया कप क्रिकेट प्रतियोगिताको उपाधी कालिकामाई गाउँपालिकाले जितेको छ ।

वीरगञ्ज मुर्लीले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै १७४ रनको योगफल तयार पारेको थियो । लक्ष्य पुरा गर्न मैदानमा उत्रेको कालिकामाई गाउँपालिकाले १७.४ ओभरमा लक्ष्य पूरा गरेको हो ।

प्रतियोगिताको विजेताले नगद रु ६० हजार र उपविजेताले रु ३० हजार नगद सहित शिल्ड तथा मेडल प्राप्त गरेका छन् ।

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रुपमा रहेका प्रदेशसभा सदस्य श्याम प्रसाद पटेलले पुरस्कार वितरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले ग्रामीण क्षेत्रमा पनि खेलकुद प्रतियोगिता हुँदा खुसी लागेको र अब गाउँगाउँबाट समेत राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने तर्फ ध्यान दिन आवश्यक रहेको बताए ।

खेलाडीहरु राष्ट्रको गहना भएको र खेलकुद क्षेत्र हाम्रो स्वास्थ्य सँग पनि सम्बन्धित रहेकोले स्वस्थ जीवनयापन तथा खेलकुद प्रवर्द्धनकै लागि प्रदेश सरकारले खेलकुद प्रतियोगिताहरुलाई अभियानको रूपमा अघि सारेको बताए ।

प्रथम मुखिया कप क्रिकेट प्रतियोगिता प्रदेश तथा राष्ट्रिय खेलकुद प्रतियोगितामा जानको लागि पहिलो पाइला भएको बताउदै विजयी हुने सम्पुर्ण खेलाडीहरुलाई बधाई तथा शुभकामना दिए । यूवाहरुको हरेक गतिविधि तथा विकासमा आफु सदैव हातोमालो गर्दै अघि बढदै जाने प्रदेश सांसद पटेलको भनाई छ ।

पर्सागढी नगरपालिका वडा नं.७ का अध्यक्ष शंकर रायभरको अध्यक्षतामा सम्पन्न प्रतियोगिता समारोहमा पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठक, बहुदरमाई नगरपालिकाका पूर्व नगर प्रमुख नितेन्द्र शाह, पर्सागढी नगरपालिकाका पूर्व उपमेयर अर्चना चौधरी, वडा नं.५ का अध्यक्ष नितेश मिश्रा लगायतका उपस्थिति थियो ।

कार्यक्रममा रघुनाथपुर यूवा समाजका अधयक्ष सहजाद अन्सारीले स्वागत मन्तव्य एवं पत्रकार बलिराम शुक्लाले सहजीकरण गरेका थिए । प्रतियोगितामा कुल १२ वटा टीम सहभागी थिए ।


सम्बन्धित समाचार