Logo

२९  भदौ, वीरगञ्ज । नारायणी एफ.एमका कार्यकारी अध्यक्ष, रेसखबर डटकमका अध्यक्ष तथा सम्पादक गोविन्द देवकोटा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न १८ औं साधारणसभा तथा ८ औं अधिवेशनबाट अध्यक्षमा अर्जुन गिरी, बरिष्ठ उपाध्यक्षमा गोविन्द देवकोटा, महासचिव बन्दना दनुवार र सचिव भक्त स्यान्ताङ निर्विरोध निर्वाचित भएका हुन् ।

 

यसअघि दुई कार्यकाल अकोराबको महासचिवमा निर्वाचित भई काम गरिसकेका देवकोटा यसपटक बरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । सामुदायिक रेडियोहरुको व्यावसायिक विकास, प्रवद्र्धन र समुदायसँग रेडियोहरुलाई जोड्ने विषयमा महत्वपूर्ण भूमिका खेल्दै आएका देवकोटा तीन दशक भन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन् ।

वीरगञ्जलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका देवकोटा हेटौडाको मनकामना एफ.एम. स्थापनादेखि रेडियो एफ.एमक्षेत्रमा प्रवेश गरेका हुन् । उनको सक्रियतामा मध्य तराईको पहिलो एफ.एम रेडियो वीरगन्ज स्थापना भएको थियो । त्यसपछि उनले नै मध्य तराईको पहिलो सामुदायिक रेडियो नारायणी एफ.एम.१०३.८ मेगाहर्ज सञ्चालनमा ल्याएका थिए ।

अहिले उनी नारायणी एफ.एम.को कार्यकारी अध्यक्ष समेत रहेका छन् । उनी रेस मल्टिमिडिया प्रालिद्वारा सञ्चालित रेसखबर डटकमका अध्यक्ष तथा सम्पादक पनि हुन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को अधिवेशनको निर्वाचन प्रकृयाबाट अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महासचिव र सचिव गरी चारजना पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । कोषाध्यक्ष सहितका अन्य पदमा भने आईतबार निर्वाचन हुने जनाईएको छ ।


सम्बन्धित समाचार