Logo

५ असोज, वीरगञ्ज । बारा कोल्हबीकी मिना चौधरी मधेश युनाइटेडको लागि छनोट भएककी छिन् । योसँगै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्नका लागि मधेशको टोलीले पूर्णता पाएको छ । इडब्लुभिएलका सहभागी टोली हरेकले ट्यालेन्ट हन्ट मार्फत एक जना खेलाडी छनोट गर्नुपर्ने प्रावधान छ ।

शुक्रवार वीरगञ्जको ज्ञानदा एकेडेमीको हलमा मधेशको ट्यालेन्ट हन्ट भएको थियो । बाराको जनशक्ति क्लबबाट खेल्ने मिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँग खेल्ने अवसर पाउने मधेश युनाइटेडकी प्रमुख कार्यकारी अधिकृत संज्ञा श्रेष्ठले बताइन्।

मिनालाई श्रेष्ठले नै मधेशमा आवद्ध गरिएको पत्र र २५ हजार रुपैयाँ नगद प्रदान गरिन् । यसअघि भएको ट्यालेन्ट हन्टमा पनि मिना आवद्ध बाराकै जनशक्ति क्लब विजयी भएको छ । सर्लाही दोस्रो र पर्साको पर्सागढी नगरपालिकाको जनता मावि तेस्रो भएको छ ।

राष्ट्रिय खेल भलिबलतर्फ महिला खेलाडीलाई अवसर दिन र आकर्षण बढाउन ट्यालेन्ट हन्टले महत्वपूर्ण भूमिका खेल्ने मधेश युनाइटेडका सञ्चालक रोहित अग्रवालको विश्वास छ । ट्यालेन्ट हन्ट एवम् इडब्लुभिएलको ट्रफी अनावरणमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले मधेश युनाइटेडले मधेशको पहिचान उच्च बनाउने विश्वास व्यक्त गरे । पछिल्लो समय खेलप्रति जनताको आकर्षण पनि बढ्दै गएको हुँदा यसले खेलाडीको पनि हौसला बृद्धि भएको महानगर प्रमुख सिंहको भनाई थियो ।

इडब्लुभिएलमा मधेश यूनाइटेडसँगै गण्डकी, ललितपुर, काठमाण्डौ, पोखरा, चितवन शक्ति र कर्णाली ६ टोलीको सहभागिता रहनेछ । राष्ट्रिय टोलीकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअर रहेको मधेश युनाइटेडमा ३ विदेशी खेलाडी पनि अनुबन्धन भइसकेका छन् ।

काजकिस्तानकी कालिनोभा यभजेनिया, ट्युनिसियाकी योस्रा जेरामदिनी र भारतीय महिला भलिबल टोलीकी कप्तान जिनी कोभात मधेशबाट खेल्नेछन् । राष्ट्रिय टोलीकी संगम महतो र शान्तिकला तामाङसहित काभा यू २० महिला च्याम्पियनसिप खेलेका यू २० राष्ट्रिय टिमकी एलिसा मानन्धर र आशिका क्षेत्री पनि मधेश टोलीमा छन् ।

राष्ट्रिय टोलीबाट खेलिसकेका पुजा थारु र हिरा केसी तथा महतो पनि मधेश युनाइटेडको खेलाडी हुन् । इन्फिनिटी ड्रिम्सको आयोजनामा असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा इडब्लुभिएल आयोजना हुँदैछ ।


सम्बन्धित समाचार