Logo

१० असोज,सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका–५, मा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

गोली लागेर युवकको बुवा घाइते भएका प्रहरीले जनाएको छ । अर्का एक जना साथीसँगै बुधवार राति पौने २ बजेतिर मोटरसाइकल चढेर आएका हरिपूर्वा नगरपालिका ५ घर भएका धीरेन्द्र यादवले श्रीमती २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेका हुन् । सँगै आएका साथीले मोटरसाइकल रोकेर बाटोमा बसेका र धीरेन्द्रले घरभित्र प्रवेश गरी श्रीमती चित्रलेखामाथि गोली प्रहार थिए ।

टाउकोमा दुई राउन्ड गोली प्रहार भएको चित्रलेखाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर धीरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश राय घाइते हुनुभएको छ ।

रायको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार चलिरहेको छ । गोली प्रहार गर्ने धीरेन्द्र साथीसँगै मोटरसाइकल चढेर फरार भएका छन् । सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले धीरेन्द्र र उनीसँगै मोटरसाइकलमा आएका व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।

उहाँका अनुसार घटनामा सानो हतियार (पेस्तोल) प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा देखिन्छ । प्रहरीले घटनास्थलमा प्रयोग भएको दुई राउन्ड गोलीको खोका र एक राउन्ड मिस फायर भएको गोली बरामद भएको छ । हतियार भने फेला नपरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

स्थानीयका अनुसार श्रीमती र बुवालाई गोली प्रहार गर्ने धीरेन्द्र एक महिनाअघि वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । घरायसी विवाद भएपछि उनी घरमा नबस्ने गरेको बुझिएको छ ।

बुधवार राति भने एक्कासि हतियारसहित घरमा आएर श्रीमती र बुवामाथि गोली प्रहार गरेका हुन् । प्रहरी नायब उपरीक्षक श्रेष्ठले घरायसी विवादका कारण घटना भएको बताउनुभयो ।

प्रहरी टोली अहिले घटनास्थलमै छ । घटनास्थलको अनुसन्धानपश्चात् मृतक चित्रलेखाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिने प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार