Logo

१९ असोज, पर्सागढी । पर्साको पर्सागढी नगरपालिका वडा नं.– १ मा शनिबारदेखि नवौ खसियाही गढीमाई गोल्डकप शुरु भएको छ । खसियाही गढिमाई युवा समितिद्वारा आयोजित फूटबल प्रतियोगिताको पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले उदघाटन गरेका छन् ।

प्रतियोगिताको उदघाटन गर्दै नगर प्रमुख पाठकले आफ्नो नगर भित्र खेलको विकासको लागि १ देखि ९ वटै वडाहरुमा खेल मैदानको निर्माणमा लागेको बताए । खेलबाट स्वस्थ नागरिकको साथसाथै खेलको माध्यमबाट गाउँ नगर देशलाई खेलाडीहरुले बाहिर सम्म चिनाउने गरेको बताए ।

खसियाही गढिमाई युवा समितिका अध्यक्ष मदन प्रसाद पटेलको अध्यक्षतामा भएको उदघाटन सत्रमा पर्सागढी नगरपालिका वडा नं.– १ का वडा अध्यक्ष राजकपुर खवास, २ नम्बर वडाका वडा अध्यक्ष बिरेन्द्र दास थारु लगायतले शुभकामना मन्तव्य मन्तव्य राखेका थिए । शनिबार भएको उदघाटन खेलमा बिरुवागुठी युथ क्लब विजयी भएको छ ।

बिरुवागुठी युथ क्लब बडनिहार र बकुलिया ११ बाराबीच भएको खेलमा बिरुवागुठी युवा क्लबले ३–० गोल अन्तरले विजयी भएको छ । बिरुवागुठी युवा क्लबका जर्सी नम्बर १० का युवराज खडकाले ह्याट्रिक गरेका हुन् । विरुवागुठीको अगाडि बकुलिया निरिह बन्यो । आईतबारको खेल बनशक्तिमाई युवा क्ल्ब सिद्धपुर र वीरगंज ब्वाइज क्लब वीरगंजबीच हुने आयोजकले जनाएको छ ।

फाईनलमा जित्ने टिमलाई नगद ३० हजार र दोश्रो हुने टिमलाई १५ हजार सहित सिल्ड मेडल दिने आयोजकले जनाएको छ। शनिबारको उदघाटन समारोहको स्वागत मन्तव्य अनिरुद्र प्रसाद चौधरीले र सहजीकरण रामजनम चौधरीले गरेका थिए ।


सम्बन्धित समाचार