Logo

२७ असोज,काठमाडौँ। श्रीलंकाको कोलोम्बोमा भएको काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ ।

टोलीलाई नेपाल भलिबल संघका पदाधिकारीले आइतबार त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नेपाली टोलीलाई स्वागत गर्दै टीका र जमरा लगाइ दिएका थिए । यस्तै संघका पदाधिकारीले खेलाडीहरूलाई दशैँको टीका समेत लगाइदिए ।

पहिलो पटक भएको काभा यु२० पुरुष भलिबलमा नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो ।

श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनलमा नेपाल उज्बेकिस्तानसँग ३–१ को सेटमा पराजित हुँदै उपविजेता बनेको थियो ।

फाइनलमा नेपालले पहिलो सेट जितेर अग्रता बनाए पनि त्यसलाई कायम राख्न नसक्दा उज्बेकिस्तानले पुनरागमन गर्दै लगातार तीन सेट जित्यो ।

नेपालले पहिलो सेट टाइब्रेकमा २७–२५ ले आफ्नो पक्षमा पारेको थियो । तर त्यसपछि भने उज्वेकिस्तान खेफमा हाबी बन्यो र २५–१०, २५–१६, २५–२० ले लगातार तीन सेट आफ्नो पक्षमा पार्दै खेल जित्यो ।

६ टोली सहभागी प्रतियोगितामा उज्वेकिस्तान अपराजित रहेर च्याम्पियन बन्यो । लिग चरणमा उज्वेकिस्तान पहिलो र नेपाल दोस्रो हुँदै फाइनल पुगेको थियो ।

लिग चरणमा पनि नेपाल उज्बेकिस्तानसँग पराजित रहेको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा तुर्कमिनिस्तानले किर्गिस्तानलाई पाँच सेटमा पराजित ग¥यो । तुर्कमिनिस्तानले रोमाञ्चक खेलमा किर्गिस्तानलाई २३–२५, २३–२५, २५–२०, २५–२३, १५–१३ ले हरायो ।

आयोजक श्रीलंका पाँचौँ भयो । प्रतियोगितामा आयोजक श्रीलंकासँगै नेपाल, उज्वेकिस्तान, तुर्कमिनिस्तान, किर्गिस्तान र मालदिभ्सको सहभागिता थियो ।


सम्बन्धित समाचार