२ मंसिर,काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज आइतबार मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
यसैक्रमा काठमाडौंको कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षका लागि सबैभन्दा पहिले स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् । यसरी उम्मेदवारी दर्ता गराउनेमा विनोद महर्जन रहेका छन् । निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार उनको उम्मेदवारी एक नम्बरमा दर्ता भएको छ । कीर्तिपुरमा मेयरका लागि उपनिर्वाचन हुँदैछ ।
आयोगका अनुसार सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, दिउँसो ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मंसिर १६ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।
विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।