Logo

४ मङ्सिर, महोत्तरी । नेपालको मुख्यबाली धान काट्ने, दाइँ गर्ने र थन्क्याउने चटारोमा महोत्तरीमा भने मजदूरको अभाव भएको छ । मुख्यबाली धान थन्क्याउने चटारो र अर्को मुख्यबाली गहुँ र दलहन सहितका बाली लगाउने पनि यहि बेला हो । धान काटेर खाली भएको खेत खनजोत गरेर हिउँदे बाली लगाउने तयारी कै बेलामा अहिले मजदुर नपाइँदा कुनै काम सोचे जसरी समयमा सक्न नपाएको किसानहरुले गुनासो गर्छन् ।

धान काटेर खाली भएको खेत हिउँदे बाली लगाउन खनजोत गर्न अहिले किसानलाई धमाधम छ । अगौटे धान लगाएका किसान अब लगालगी गहुँ, चना, मुसुरो छर्ने, आलु र उखु रोप्ने कामले छोपेको किसान बताउँछन् । महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा खेतीपातीका काम जान्ने कृषि जनशक्ति कामकै लागि भारतका पञ्जाव र हरियाणा गएपछि यहाँ जनको अभाव भएको हो । खेतीपातीका काममा पोख्त मानिने मुसहर, बाँतर जाति समुदायका काम गर्नसक्ने उमेरदारी जति सबै पञ्जाव र हरियाणा गएका छन् । यी समुदायको बसोबासका बस्ती पस्दा अचेल हिँडडुल गर्न नसक्ने बूढाबूढी, महिला र स–साना बालबालिकामात्र भेटिन्छन् ।

कृषि क्षेत्रका काममा पोख्त मानिने यी समुदायका किशोर र युवा भारततिर छन् । साहुले एकाध लाख ऋण पत्याउने साना किसान परिवारका युवा खाडीमा छन् । उर्वर उमेरका युवा कमाउन नै विदेश गएपछि यहाँ खेतीपाती गर्ने घट्दै गएका छन् । तीन दशक पहिलेसम्म तीन हल गोरु पालेर घुँडा धसेर आठ–दश बिघा खेती गर्ने किसान अब जग्गा बेचेर सहर बस्न थालेका छन् ।

जिल्लामा ७० हजार हेक्टर कृषियोग्य जग्गा रहेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयको तथ्याङ्क छ । बर्सेनि खेतीपातीमा अनुकूल नहुँदा आठ–दश हजार हेक्टरमा किसानले पालो बाली लगाउन पाउँदैनन् । उखु, रहरीसहितका बाली वर्षभरि लाग्ने भए पनि धेरैजसो जग्गा दुई–तीन बाली लगाउन मिल्ने छन् । तर खासमा जनशक्तिकै अभावले एउटा बालीपछिको अर्को बाली लगाउने काम घट्दै गएको जिल्लामा खेतीपातीमा कहलिएका किसान गुनासो गर्छन् ।

 


सम्बन्धित समाचार